डा. गुप्ताबारे सीएनएनले छानविन गर्ने

काठमाडौं, २४ आषाढ । अमेरिकी टेलिभिजन च्यानल सीएनएनले वैशाख १२ को भूकम्पपछि आफ्ना मूख्य चिकित्सकीय प्रतिनिधि डा. संजय गुप्ताले तयार पारेको रिपोर्टमाथि छानविन गर्ने भएको छ । आपतकालिन अवस्थामा आफू भूकम्प पीडित बालिकाको उपचारमा संलग्न भएको भन्दै डा. गुप्ताले वीर अस्पतालको अप्रेशन कक्षबाट तयार पारेको रिपोर्टमाथि सीएनएनले छानविन गर्ने भएको हो । सो रिपोर्टमार्फत दर्शकमा गलत सूचना गएको सीएनएनले स्वीकार गरेको छ । रिपोर्टमा डा. गुप्ताले आफू भूकम्पबाट घाइते एक आठ वर्षीया बालिकाको उपचारमा संलग्न भएको र उनलाई बचाउन सफल भएको दाबी गरेका थिए ।
डा. गुप्ता वैशाख १२ को भूकम्पपछि नेपालमा रिपोर्टिङ्गको सिलसिलामा आएका थिए । उनले रिपोर्टिङ्गका क्रममा ती घाइते बालिकाको उद्धार गरेको र उनको उपचारमा समेत आफू सहभागी भएको जिकिर गर्दै श्रब्यदृष्य सामाग्री तयार पारेका थिए । सीएनएनबाट प्रशारित सो रिपोर्ट विश्वभर हेरिएको थियो । सोही रिपोर्टबाट उनी विश्वमा चर्चितसमेत भए ।
ग्लोवल प्रेस जर्नलले डा. गुप्ताको सो रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठाएको हो । डा. गुप्ताले आफ्नो सहभागितामा उपचार गरिएकी भनिएकी ८ वर्षीया बालिकाको टाउकोमा चोट नलागेको तथा उनले अर्कै एक १४ वर्षीया बालिकालाई सामान्य चिकित्सकीय सहयोग गरेको जर्नलको दाबी छ । रिपोर्टको स्टोरी र दृष्यमा फरक पाइएको दाबी गर्दै जर्नलले भनेको छ, ‘हाम्रो अनुसन्धानबाट ८ वर्षीया बालिकाको उपचारमा डा. गुप्ता संलग्न भएको पाइएन, उनले एक १४ वर्षीया बालिकालाई सामान्य सहयोग गरेका थिए, भिडियो र रिपोर्टमा मेल खाँदैन ।’डा. गुप्ताले एक साता नेपालमै रहेर रिपोर्टिङ्ग गरेका थिए ।