काठमाडौं, चैत ५ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आतङ्कवाद प्रतिवादसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई स्वदेश फर्किएका छन् ।
शुक्रबार राति उनी स्वदेश फर्किएका हुन् । भारतमा भएको उक्त सम्मेलनमा सहभागी हुने क्रममा उनले भारतीय नेताहरुसँग भेटवार्तासमेत गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री निधिले भ्रमण उपलब्धिमूलक रहेको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताको चर्चा गर्दै उनले प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनाबारे सूक्ष्म अध्ययन भइरहेको र दोषीलाई कारबाही गर्न भारत सरकार तयार रहेको आश्वासन दिएको जनाए ।
भ्रमणका क्रममा भारतीय विदेशमन्त्री सुस्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह तथा भारतीय नेताहरु डा मनमोहन सिंह, डिपी त्रिपाठी, सीताराम येचुरी, त्यहाँका पत्रकार , नागरिक समाजका अगुवासँग भेट भएको र ती भेटघाटमा सबैले नेपालको लोकतन्त्र र आर्थिक समृद्धिमा भारतको अत्यन्त सहयोग र सहानुभूतिको भावना देखाएको निधिको भनाइ थियो ।






