धादिङ नुवाकोट समाजको कार्यक्रममा प्रस्तुति दिन गायिका मिना लामा लण्डनमा

शिब भण्डारी

लण्डन । धादिङ र नुवाकोटबाट बेलायत आई बसोबास गरिरहेका नेपालीहरुको साझा संस्था धादिङ नुवाकोट समाज यूकेले  वार्षिक समर भेटघाट कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रममा भाग लिन  इन्द्रेणी 
सांस्कृतिक परिवारकी कार्यक्रम सञ्चालिका तथा धादिङकी राष्ट्रिय लोक तथा दोहोरी गायिका मिना लामा लण्डन आइपुगेकी छन् ।

आउंदो अगस्ट ११ तारिखमा लण्डनको ह्यारो फुटबल क्लबको सभाहलमा सम्पन्न गरिने समाजको समर भेटघाट कार्यक्रममा प्रस्तुति दिन गायिका लामा बुधबार सांझ लण्डन आई पुगेकी हुन्।

गायिका लामालाई स्वागत गर्न समाजका अध्यक्ष सिबी तामाङका साथै महासचिव धन बहादुर पाख्रिन,पूर्व अध्यक्ष बाम गुरुङ,रुक आले,एन वी तामाङ, देव गुरुङ, टिका सिङ लगायत हिथ्रो विमानस्थल पुगेका थिए ।

गायिका लामाले यसअघि गत महिना मगर संघ यूकेले आयोजना गरेको ओपन कन्सर्टमा समेत जोडदार प्रस्तुति गरेकी थिइन् । अगस्ट ११ को कार्यक्रममा गायिका लामासंगै अहिले बेलायतमै रहेकी नायिका छुल्ठिम गुरुङले पनि प्रस्तुति गर्ने कार्यक्रम छ।  साथै, अरु विभिन्न स्थानीय कलाकारका सांस्कृतिक कार्यक्रम पनि कार्यक्रममा रहनेछन् ।

कार्यक्रममा सहभागिताका लागिसमाजले बेलायतस्थित धादिङ तथा नुवाकोट जिल्लावासीसहित सम्पुर्ण नेपालीहरुलाई आव्हान गरेका छन् । धादिङ र नुवाकोट दुई जिल्ला समेटेर बनाइएको उक्त संस्था विगत ११ वर्षदेखि बेलायतमा विभिन्न सामाजिक कार्यमा क्रियाशिल छ ।