काठमाडौं– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघभित्रको विवाद थप उग्र बन्दै गएको छ । अध्यक्ष नैनसिंह महरको कार्यशैलीको विरोधमा रहेको महामन्त्री कुन्दन काफ्लेसहितका असन्तुष्ट समूहका नेताहरुले एकलौटी रुपमा १२ औं महाधिवेशनको मिति नै घोषणा गरेपछि विवाद थप उग्र बन्दै गएको हो ।

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै असन्तुष्ट समूहले आगामी साउन २३ देखि २५ गतेसम्म काठमाठौंमा महाधिवेशन गर्ने तय गरिएको जानकारी दिएको छ ।

असन्तुष्ट समूहको बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष नैनसिंह महरले गरेका मनोनयन खारेज गरेको घोषणा समेत गरेको छ । विधान बमोजिम रिक्त २२ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको मनोनयन केन्द्रीय समितिको बहुमत बाट निर्णय गरिने पनि बैठकले निर्णय गरेको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

उनका अनुसार महाधिवेशन सम्पन्न गर्नका लागि नेविसंघले साउन ३ देखि मतदान नहुँदासम्मको लागि कार्यतालिका समेत तय गरेको छ ।

योसँगै लामो समयदेखिको नेविसंघको विवाद थप पेचिलो बनेको छ ।

यसैबीच बहुमत केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठकको निर्णय गर्दै एकलौटी रुपमा असन्तुष्ट समूहले गरेको महाधिवेशनको घोषणापछि धेरैले नेविसंघ गम्भीर मोडमा पुगेको भनि टिप्पणी गरेका छन् ।

मुल पार्टीमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौला खेमा सशक्त रुपमा बाहिर देखिएको बेला विद्यार्थीमा भने देउवा र देउवाविरोधी खेमाका रुपमा देखिएको छ ।

फेसबुक कमेन्ट