लन्डनस्थित नेपाली दूतावासमा पत्रकारहरुलाई सम्मान [फोटो फिचर]

लन्डन ।  नेपाल पत्रकार महासंघ बेलायत शाखाको हालै निर्वाचित चौंथो कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावासले वधाइसहित सम्मान गरेको छ । शुक्रबार सांझ ‘भिजिट नेपाल २०२०’ अभियान शुभारम्भका अवसरमा लन्डनस्थित नेपाली दूतावासमा आयोजित विशेष समारोहमा अध्यक्ष नरेश खपांगीमगर नेतृत्वको पत्रकार महासंघ बेलायतको चौंथो कार्यसमितिलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी लर्ड शेख र राजदूत डा. दुर्गाबहादुर सुवेदीले पत्रकारहरुलाई सम्मान गरे । दूतावासमा संस्थागत रुपमा नेपाल पत्रकार महासंघ यूकेलाई सम्मान गरिएको यो पहिलो हो । स्वागत मन्तव्यका क्रममा राजदूत डा. सुवेदीले बेलायतस्थित नेपाली पत्रकारहरुले समुदायलाई सुसूचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
राजदूतले नरेश खपांगीमगर नेतृत्वको कार्यसमितिले विगतमा समेत प्रशंसनीय कार्य गरेको जनाउंदै अबको कार्यकाल अझ सफल रहोस् भनि शुभकामना दिए ।
यसैबीच, महासंघ अध्यक्ष खपांगीमगरले दूतावासले नयां कार्यसमितिलाई विशेष महत्व दिएर सम्मान गरेकामा आभार व्यक्त गरेका छन् । सम्मानले आफूहरुलाई पेशाप्रति अझ जिम्मेवार हुन प्रेरित गरेको मगरले बताए ।
दूतावासमा आयोजित विशेष समारोहमा अध्यक्ष नरेश खपांगी मगर सस्थापक अध्यक्ष नविन पोख्रेल,भागिरथ योगी बरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल, ध्रुवराज अर्याल, उपाध्यक्ष बिमला सेने ,महासचिव संजयभक्त कंडेल,सचिव शिब भण्डारी, जगन्नाथ कार्की कोषाध्यक्ष सिद्धार्थ बिक्रम क्षेत्री सदस्यहरु बोमबहादुर थापा गणेश खड्का खेमराज रानाभाट यसै गरी पत्रकार फडिन्द्र भट्टराई बिपिन नीरौला समेतको उपस्थिति रहेको थियो।