काठमाडौँ- नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले वर्तमान सरकारले आफ्नो चर्को राष्ट्रवादको नाराजस्तै भोट आकर्षित गर्न ल्याएको चुनावी नारालाई पनि छाडेको आरोप लगाएका छन् ।
राजश्व र व्यवको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा बोल्दै नेता रिजाले भने, ‘कम्युनिष्ट घोषणा पत्रले थुप्रै कुरा गरेको थियो । अब चुनाव सकियो अब किन घोषणापत्र तर्फ फर्कने भन्ने लाग्यो होला ।’
उनले लामो व्यवसायिक ज्ञान भएका अर्थमन्त्री युवराज खतिवडालाई सिंगारले भरिएको सबै चुनावी नारालाई बजेटमा भर्न भएको कठिनाईलाई आफूले बुझ्ने पनि बताए ।
उनले जस्तो सुकै ठूलो पदमा पुगे पनि एउटा व्यक्तिको हठ र अहंकारबाट समृद्धिको यात्रा शुरु नहुने पनि बजेटबाट प्रष्ट भयो । ‘यो कुरा जलमार्गमा गरेको बजेट विजियोजनबाट प्रष्ट हुन्छ,’ उनले भने ।
नेता रिजाले एमाले नेता सुवास नेम्वाङले एक वर्षभित्र मोरङबाट हिन्द महासागरसम्म जहाज चलाउने सपना देखेको प्रति व्यङ्ग्य गरेका छन् ।
‘एक जना माननियले हिन्द महासागर जाने निम्ता दिनुभएको थियो । तर, त्यसको सम्भावयता अध्ययन गर्न एक वर्ष लाग्ने भयो । अब अध्ययन सम्भावयता सकिएपछि निम्ताबारे अर्को वर्षको वजेटमा त्यसबारे कुरा गरौँला,’ उनले भने ।
उनले देशको प्राथमिकता जलमार्गभन्दा उर्जा क्षेत्रमा बढी हुनुपर्नेमा पनि जोड दिँदै तमोर जलविद्युत आयोजनाको विकासलाई प्राथमिकतामा राख्न ध्यानाकर्षण गरे ।
उनले उर्जामा ५ वर्षसम्मको योजना भए पनि त्यसपछिको योजना स्पष्ट नभएको पनि बताए ।
निर्वाचन क्षेत्र कार्यक्रममा सहमति भएको छैन
नेता रिजालले अर्थमन्त्रीले दाबी गरे अनुसार राजनीतिक सहमतिमा निर्वाचन क्षेत्र कार्यक्रम नआएको पनि दाबी गरे ।
उनले यसबारे अर्थमन्त्रीले प्रतिपक्षसँग कहिले पनि छलफल नगरेको दाबी गर्दै अर्थमन्त्रीको आफ्नो पार्टीभित्र मात्र सहमति भएको जिकिर गरे । ‘आफ्नै दलका सांसदको दबाबबाट आएको भनेका भए जाती हुन्थ्यो,’ उनले भने ।
उनले बजेटलाई प्राथमिकताविहीन कार्यक्रमको फेरिहस्त बताउँदै यसले निर्भरता बढाउने जिकिर गरे ।
बजेटले निजी क्षेत्र र अन्तर्राष्ट्रिय लगानीलाई हतोत्साहित गर्ने पनि उनको दाबी थियो ।
राजश्व संकलनमा बजेट महत्वकांक्षी देखिएको भन्दै यसले जनतामाथि कर र ऋणको बोझ मात्र थप्ने बताए ।
उनले बजेटमा रोजगारी सृजनाभन्दा सत्तासिन दलका कार्यकर्तालाई पोस्ने कार्यक्रम समावेश गरेकोमा आपत्ति प्रकट गरे । समृद्धिको नारा भएपनि बजेटमा कार्यक्रम र योजना नभएको स्पष्ट उनले पारे ।
नेता रिजाले समृद्धिका लागि आवश्यक पूर्वाधकार विकास अन्तरगत सडकको बारेमा स्पष्ट कुरा नआएको पनि बताए । उनले निजगढ विमानस्थल किन प्राथमिकतामा परेन भनेर पनि प्रश्न गरे ।






