इमरान खान पाकिस्तानको प्रधानमन्त्री हुँदा भारतमा किन बढ्यो चिन्ता ?

एजेन्सी- नयाँ दिल्लीको साउथ ब्लकले पाकिस्तानमा भइरहेको कार्यकारी शासनको हस्तान्तरणलाई नजिकबाट हेरिरहेको छ । यस पटकको सत्ता हस्तान्तरण पाकिस्तानको ७१ वर्षे इतिहासको तेस्रो पटक निवार्चनबाट भएको हस्तान्तरण हो ।

क्रिकेटरबाट राजनीतिज्ञ भएका इमरान खान भावी प्रधानमन्त्री हुने निश्चित छ ।

इमरानले नागरिक सरकारमा व्याप्त भ्रष्टाचार र पाकिस्तानका दुई ठूलालाई गाँजेको परिवारवादको चर्को विरोध गरेको कारण उनको पक्षमा जनलहर रहेको मानिँदैछ । तर अर्को महत्वपूर्ण कुरा पनि छ । पाकिस्तानमा शक्तिशाली रहेको सेना इमरानको समर्थनमा रहेको देखिन्छ । विगतमा सेनाको राजनीतिक हस्तक्षेपप्रति नरम अडान लिएका कारण सेना इमरानप्रति सकारात्मक भएको मानिएको छ ।

इमरानको सत्ता आगमनले भारतसँगको पाकिस्तानको सम्बन्धमा के असर हुनेछ, भारतमा अहिले यसबारे विचार गरिदैं छ ।

इमरानले सन् १९९६ मा आफ्नो राजनीतिक यात्रा शुरु गरेका थिए । तथापी उनको वास्तविक राजनीतिक उदय सन् २०१२ बाट शुरु भएको मानिन्छ । त्यो वर्षको उनको राजनीतिक अभियानले उनको पार्टीलाई तेस्रो स्थानमा ल्याई पु¥यायो ।

खानको उग्र कार्यशैली र उस्तै एजेण्डाले मतदाता उनको पक्षमा तान्दै थियो । त्यो अवधीमा दोश्रो पार्टी पीपीपीको लोकप्रियता कम हुँदै थियो । यसले उसको प्रतिपक्ष भूमिका कमजोर हुँदै थियो ।

तर तेस्रो पार्टी पीटीआई चाहीँ पाकिस्तानको मुख्य प्रतिपक्षजस्तो देखिन थाल्यो । इमरान खानले शरिफ विरुद्ध विरोध अभियान नै छेडे । कतिले यसलाई शरीफले प्रतिनिधित्व गर्ने सम्पन्नहरु विरुद्धको कदमको रुपमा पनि लिए, कितिले भ्रष्टाचार विरोधी तर यी सबै कुराहरुले उनको अभियानमा जनसमर्थन बढिरहेको थियो ।

विरोध अभियानका क्रममा इमरानले शरिफलाई आफ्नो व्यक्तिगत स्वार्थको लागि भारतीय प्रधानमन्त्री मोदी प्रति नरम भएको आरोप पनि लगाएका थिए ।

दिल्लीका विज्ञहरु शरिफ आफ्ना सुरुवाती दिनको सेना र जासुसी संयन्त्रप्रतिको नरमताबाट टाढिए पछि खानले उनको ठाउँ लिएको मान्छन् । हाल जेलमा बन्दी शरिफले नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आएको निमन्त्रणा सेनाको विरोधको बाबजुद स्वीकारेर उपस्थित पनि भए ( मोदीले आफ्नो प्रधानमन्त्रीको सपथग्रहण समारोह आफ्ना छिमेकी देशका सरकार प्रमुखहरुको उपस्थीतिमा गरेका थिए । यसमा नेपालबाट सरकार प्रमुख गएका थिए) ।

साथै, पाकिस्तान भ्रमणका क्रममा पर्न गएको मोदीको जन्मदिनका लागि शरिफले लाहोरमा भव्य कार्यक्रम नै आयोजना गरे ।

त्यति मात्रै होइन शरिफले पछि पाकिस्तानले मुम्बई हमलापछि आफूले गर्नुपर्ने कार्य नगरेर पाकिस्तानको वैश्विक छवि बिगारेको भनेर ‘स्विकारे’ । अझ अर्को महत्वपूर्ण कदम चाल्दै उनले पूर्व जनरल परवेज मुशर्रफलाई राष्ट्रद्रोहको मुद्दामा कारवाही चलाए ।

यी कारवाहीले रावलपिण्डीमा रहेको सेनाका जनरलहरुलाई जिस्काएको मानिन्छ । त्यसपछि लगत्तै उनीहरुको समर्थन इमरान खानतर्फ फर्किन थाल्यो । साथै उनको निर्वाचन जित्ने सम्भावना पनि बढ्यो ।

प्रारम्भिक मतगणना भइरहँदा पीपीपी र पीएमएल–एनले खुल्ला रुपमा सेनाले इमरानको पक्षमा निर्वाचनमा धाँधली गरेको आरोप लगाएका छन् । यस्तै विचार भारतीय संस्थापनमा पनि रहेको छ । साथै उनी ‘खराब आतङ्कवाद र असल आतङ्कवाद’ पदावलीको प्रयोगमा ल्याउने व्यक्ति हुन् ।

अहिलेसम्मको अवस्था हेर्दा इमरानले आईएसआई र आर्मीका पदाधिकारीहरुले निर्धारण गरेको भारतीय रणनीति पछ्याउछन् भन्ने भारतमा धारणा छ ।

उनको चुनावी अभियानमा नयाँ दिल्लीको विरोधका प्रशस्त नाराहरु सुनिएका थिए । तर उनले हालसम्म कश्मिर र पाकिस्तानमा बसेर भारतमा आतङ्कवादी कारवाही गर्ने समूहलाई कसरी हेर्नेछन् भन्ने स्पष्ट धारणा व्यक्त गरेका छैनन् ।

कश्मिरको सम्बन्धमा उनले केही अवसरमा भारतीय सस्थापनले त्यहाँ आतङ्क रोक्नुपर्ने र यसलाई संयुक्त राष्ट्रको सुरक्षा परिषद् अन्तर्गत ल्याउनुपर्ने बताएका छन् ।

बाध्यात्मक अवस्थामा बोल्नै पर्ने वा घोषणापत्रमा उल्लेख गर्नुपर्ने बाहेक इमरानको सम्पूर्ण अभियानमा भारत र काश्मिर महत्वमा परेका छैनन् । यसबाट इमरान आफ्ना पूर्ववर्तीहरुले जस्तै भारत नीति सेना र गुप्तचरको हातमा दिन सहमत भएको जस्तो देखिएको भारतीय संस्थापनलाई परेको छ ।

भारत पाकिस्तानमा सेना र नागरिक सरकारबीच असल समझदारी भएको अवस्था चाहँदैन । झन् उक्त समझदारीमा सेनाको हात माथि परेको अवस्था भारतको सुरक्षाकै लागि खतरा मान्छन्, भारतीय सुरक्षाविद्हरु ।

शरिफको सरकारले सेनामाथि नागरिक सरकार हावी गराउन प्रयास शुरु गरेको थियो । अब त्यो अवस्थाको अन्त्य भएको मानिएको छ । यो भारतको लागि चिन्ताको विषय हो ।