काठमाडौँ- खराब मौसमका कारण लुक्लामा फँसेका भारतीय पर्यटकहरुको उद्धारका लागि भारतीय विदेशमन्त्री सुस्मा स्वराजले हस्तक्षेप गरेकी छिन् ।
खराब मौसमका कारण नियमित विमान उडान प्रभावित भएपछि केही भारतीयहरु दुई दिनदेखि लुक्लामा फँसेका थिए ।
लुक्लामा फँसेका भारतीयहरु मध्ये एक अमित थडानीले ट्वीट गर्दै यसमा सुस्मा स्वराजको सहयोग मागेका थिए ।
स्वराजले तत्कालै नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई उनीहरुको उद्धार गर्न निर्देशन दिएकी थिइन् ।
‘हामी दुई दिनदेखि लुक्लामा फँसेका छौँ । हेलिकप्टर कम्पनीका लुटेराहरुले काठमाडौँसम्म जानका लागि हामीसँग एक जना बराबर ६ सय डलर माग गरिरहेका छन् । जबकी हामीले काठमाडौँबाट लुक्ला आउन २ सय डलर तिरेका थियौँ । के तपाईंले हामीलाई सहयोग गर्न सक्नुहुन्छ ?,’ थडानीले ट्वीट गरेका थिए ।






