जथाभावी बाटो काट्ने तीन हजार ३४८ जना पैदल यात्रु कारबाहीमा

काठमाडौँ- ट्राफिक नियमविपरीत बाटो काट्ने तीन हजार ३४८ जना पैदल यात्रु एकैदिन कारबाहीमा परेका छन् ।

मंगलबारबाट जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषणा गरेअनुरुप उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख नायब महानिरीक्षक मिङ्मार लामाले जानकारी दिनुभयो ।

कारबाहीमा परेकामध्ये दुई हजार १२० जनाले रु २०० का दरले जरिवाना तिरे भने बाँकी एक हजार २२८ जनाले ट्राफिक प्रहरीले दिने जनचेतना कक्षामा सहभागी भए ।

यसरी कारबाहीमा परेकाबाट रु चार लाख २४ हजारभन्दा बढी रकम राजस्वमा जम्मा भएको छ । जरिवाना रकम नतिर्नेलाई तीन घन्टा नियन्त्रणमा लिएर आधा घन्टाको सचेतना कक्षा दिइएको थियो ।

सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४२ प्रतिशत पैदल यात्रु रहेको विवरणका आधारमा त्यसलाई व्यवस्थित गर्न अभियान सुरु गरिएको उहाँको भनाइ छ ।