‘टासी द मंक’ ले जित्यो १५ सय अमेरिकी डलर

kimff1

काठमाडौं- १३ औं संस्करणको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा अन्तर्राष्ट्रिय तर्फको प्रतिष्पर्धामा ‘टासी द मंक’ उत्कृष्ट भएको छ ।

यस फिल्मले १५ सय अमेरिकी डलर हात पारेको छ भने ‘जुरेक’ र ‘पिइसेना पास्टेरा’ दोस्रो र तेस्रो घोषित हुँदै क्रमश: एक हजार र पाँच सय अमेरिकी डलरका दाबेदार बने ।

त्यस्तै, नेपाली अख्यान फिल्मतर्फको प्रतिष्पर्धा ‘पानारोमा’ अन्तर्गत महेशविक्रम शाहको कथामा अरुणदेव जोशीले निर्देशन गरेको ‘कमारो’ ले पचास हजार रुपैयाँ जितेको छ ।

भूकम्पमा परेर बाँचेकाहरुमाथि बनेको डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ ले भने दोहोरो अवार्ड हात पारेको छ । यस डकुमेन्ट्रीले पिपल च्वाइस अवार्डका साथै उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जितेको हो । उत्कृष्ट डकुमेन्ट्रीतर्फबाट यस डकुमेन्ट्रीलार्इ पचास हजार रुपैयाँ प्रदान गरिएको थियो ।

साथै, इसिमोडले प्रदान गर्ने अवार्ड ‘सेरढक’ ले हात पारेको छ भने वैशाख १२ गतेको भूकम्पले पारेको प्रभावमाथि बनाइएका पाँच मिनेटभन्दा छोटा फिल्मको प्रतिष्पर्धामा छानिएका १० फिल्ममध्ये क्रमश: ‘आफ्टर द क्विक’, ‘राइजिङ फ्रम द इपिसेन्टर’ र ‘धर्तीपुत्र’ पहिलो, दोस्रो र तेस्रो घोषित भएका छन् ।