थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय बौद्ध महोत्सवमा नेपालको पनि सहभागिता 

काठमाडौँ, १० जेठ

अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौडण्यको नेतृत्वमा एक प्रतिनिधिमण्डल १५औँ अन्तर्राष्ट्रिय बौद्ध महोत्सवमा सहभागी हुन आज थाइल्याण्डको बैंकक प्रस्थान गरेको छ । संयुक्त राष्ट्र संघले यस वर्ष मनाउन लागेको उक्त कार्यक्रममा वैशाख दिवसका लागि अन्तर्राष्ट्रिय परिष्दको निमन्त्रणामा विभिन्न सम्प्रदायका बौद्ध गुरु त्यसतर्फ जानुभयो । यही जेठ ११ देखि १३ गतेसम्म चल्ने महोत्सवमा बौद्धदर्शनले शान्ति तथा समृद्धि कायम गर्नका लागि जनजीवनमा पारेको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायले छलफल गर्नेछ ।

महासचिव कौडण्यले नेपालमा पछिल्लो पटक भइरहेको बौद्धदर्शनको विकास तथा त्यसको अभ्यासका बारे सहभागी राष्ट्रलाई जानकारी दिने थाहा भएको छ । थाइल्याण्डका नरेश भजिरालोङकर्न बोदिन्द्रदेवयभराङकुनलाई महासचिव कौडण्यले नेपालबाट लगिएका बुद्धमूर्ति उपहारस्वरुप प्रदान गर्नुहुनेछ । अघिल्लो वर्ष सो महोत्सव श्रीलंकामा भएको थियो ।