नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको आव्हान अनुसार तोकिएको समयमा नै संविधान निर्माणमा दवाद दिन महासंघ बेलायत शाखाले नेपाली दुतावास मार्फत संविधान सभाका अध्यक्ष तथा संविधानसभालाई स्मरणपत्र बुझाएको छ ।
आगामी माघ आठ गते संविधान जारी गर्न दलहरुलाई दवाव स्वरुप बेलायत शाखाले सो ज्ञापनपत्र बुझाएको हो ।
‘नेपाली जनतासंग गरेको बाचा नतोडौं, २०७१ माघ ८ गते भित्रै संविधान निर्माण गरौं’ भन्ने मुल आव्हान सहित बुझाइएको स्मरणपत्रमा संविधानसभाबाट भइरहेका पहलको स्वागत गरिएको छ ।
यद्यपी पछिल्ला दिनमा दलहरूबीच बढ्दै गएको असहमति र धु्रवीकरणले संविधानसभा कतै आफैले बाचा गरेको समयसीमा भित्र संविधान दिन फेरि पनि असफल हुने त हैन भन्ने गम्भीर आशंका उत्पन्न भएको स्मरणपत्रमा उल्लेख छ ।
नेपाल पत्रकार महासँघ बेलायत शाखा तथा यस अभियानमा संलग्न नागरिक समुदायको तर्फबाट शाखाका अध्यक्ष चिरन शर्माले कार्यवहाक राजदुत तेजबहादुर क्षेत्रीलाई स्मरणपत्र हस्तान्तरण गरेका थिए ।






