काउन्सिलर गुरुङलाई सम्मान (फोटो /भिडियो सहित)

लण्डन । बर्न्टओक नेपाली समाज युके तथा नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले हालै बार्नेट बरोको काउन्सिलर पदमा विजयी लक्ष्य गुरुङको सम्मान गरेका छन्।

शनिबार बिहान बर्न्टओकस्थित वाटलिङ कम्युनिटी सेन्टरमा आयोजित एक समारोहमा बर्न्टओक नेपाली समाजका अध्यक्ष उदय गुरुङले खादा र पुष्पगुच्छा सहित लक्ष्य गुरुङ तथा श्रीमती गुरुङलाई सम्मान गरेका थिए। उनले गुरुङलाई आगामी दिनमा भूतपूर्व गोर्खा तथा नेपाली समुदायको हितमा काम गर्न शुभकामना पनि दिए।

सो अवसरमा बोल्दै काउन्सिलर लक्ष्य गुरुङले आफस गएको १३ वर्षेदेखि सपरिवार बार्नेट काउन्सिलमा बसीरहेको र अहिले यहाँका सबै समुदायले नेपाली तथा गोर्खा समुदायकाबारे थाहा पाएको बताए। ब्रिटेनका गृहमन्त्री साजीद जाविद तथा लण्डनका मेयर सादिक खान पाकिस्तानी आप्रवासी परिवारबाट आएका सफल व्यक्तित्वहरु भएको बताउँदै आफुले पनि नेपाली दोश्रो पुस्तालाई अगाडि बढ्न सजीलो होस् भनेर काउन्सिलरको चुनाव लडेको बताए। उनले भूतपूर्व गोर्खा सैनिक समुदाय तथा नेपाली भाषा कक्षा सन्चालनका लागि काउन्सिलको तर्फबाट सहयोग जुटाउन आफुले हरसंभव पहल गर्ने पनि बताए।

गुरुङ मे महिनाको शुरुमा ब्रिटेनमा भएको स्थानीय चुनावमा सत्तारुढ कन्जर्भेटिभ पार्टीको तर्फबाट लण्डन बरो अफ बार्नेटमा काउन्सिलर पदमा विजयी भएका हु्न्।

सो अवसरमा हालै बार्नेट काउन्सिलद्वारा सिभिक अवार्ड प्रदान गरिएका बर्न्टओक नेपाली समाज युकेका निवर्तमान अध्यक्ष रमेश गुरुङ तथा श्रीमती गुरुङलाई पनि सम्मान गरिएको थियो। नेपाली भाषा तथा सांस्कृतिक केन्द्रका अध्यक्ष सुमन प्रधानले बेलायतमै जन्मेका तथा हाल बेलायतमा पढीरहेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा तथा संस्कृति बारे जानकारी गराउन केन्द्रले साप्ताहिक नेपाली कक्षा सन्चालन गरिरहेको बताए। उनले नेपाली भाषा बाहेक बालबालिकालाई योग, ध्यान तथा सांस्कृतिक गतिविधिमा पनि संलग्न गराउने गरिएको उनले जानकारी दिए।

कार्यक्रमको सन्चालन बर्न्टओक नेपाली समाजका महासचिव भोला पनेरुले गरेका थिए। कार्यक्रममा बर्न्टओकमा बसोबास गर्ने भूतपूर्व गोर्खा सैनिकहरु तथा समाजका सदस्यहरुको सहभागिता थियो।

https://www.facebook.com/londonnepalnews/videos/1627028930748962/