एमाओवादीका सल्लाहकार एमाले केन्द्रीय सदस्यमा मनोनित

 काठमाडौ, १७ फागुन । एमाओवादीका केन्द्रीय सल्लाहकार राधाकृष्ण मैनाली नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका छन् । संघीय समाजवादी छाडेर एमालेमा प्रवेश गरेका विजय सुब्बा पनि केन्द्रीय कमिटीमा मनोनित भएका छन् ।

Rk-Mainali-Bijaya-Subbaएमाओवादी छाडेको घोषणा नगर्दै मैनालीलाई एमालेले आइतबार स्थायी कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

मैनाली नेकपा एमालेका संस्थापक नेता हुन् । उनी एमालेको स्थायी कमिटी सदस्य भएकैबेला ०५९ सालमा तत्कालीन राजाको समर्थन गरेको अभियोगमा एमालेले पार्टी सदस्यबाट हटाएको थियो । आइतबार उनलाई पार्टी सदस्यसमेत नबनाई केन्द्रीय सदस्य मनोनित गरिएको छ ।

त्यसपछि मैनाली पूर्वराजा नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री बनेका थिए । गणतन्त्र स्थापनापछि मैनाली एमाओवादीमा प्रवेश गरेका थिए ।

त्यस्तै संघीय समाजवादी छाडेर फर्किएका बिजय सुब्बालाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको एमालेले जनाएको छ ।

सुब्बा संघीय समाजवादीको बरिष्ठ उपाध्यक्ष छाडेर गत साउनमा एमालेमा प्रवेश गरेका थिए । अन्य पार्टीबाट एकीकरण हुने २० प्रतिशत सदस्यको कोटामा दुई नेता मनोनित भएका हुन् ।

यी दुईजनाको मनोनयनसँगै एमाले केन्द्रीय कमिटीको संख्या १ सय ७३ पुगेको छ । मैनाली र सुब्बालाई क्रमशः स्थायी समिति र पोलिटब्यूरो सदस्य बनाउने सम्भावना रहेको स्रोतले जनाएको छ ।

सोमबार बैकल्पिक सदस्य छानिने

पाँचजना बैकल्पिक केन्द्रीय सदस्यका बारेमा भने सोमवारको बैठकबाट निर्णय हुने एमाले स्रोतले जनाएको छ ।

बैकल्पिक केन्द्रीय सदस्यका लागि देवशंकर पौडेल, रुपनारायण श्रेष्ठ, जुलीकुमारी महतो, झपट रावल, राजेन्द्र राई, भीम राई र भीम केसीको नाम प्रस्ताव भएको छ ।