लन्डन । बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको नवीनतम् नियात्रासङ्ग्रह भाया साक्रामाथि लन्डनमा साहित्य चौतारी यूकेले अन्तरक्रिया गरेको छ।
साहित्यकार डा. रुपक श्रेष्ठले भाया साक्रामा पोखिएको नेपाल राष्ट्र प्रेमको प्रशंसा गरे भने नियात्रासङ्ग्रहमा पनि डायोस्पोरिकता ल्याउन सक्नु लेखकको विशेष प्रतिभा भएको बताए ।
कार्यक्रममा समीक्षक विजय सापकोटा, डा. रुपक श्रेष्ठ र वासु शर्माले कृतिका बारेमा आ-आफ्नो धारणा राखे। यस नियात्रासङ्ग्रहमा लेखकको अध्ययनको दायरा फराकिलो देखिएको भन्दै समालोचक विजय सापकोटाले प्रसंशा गरे। उनले त्यस सङ्ग्रहबाट ज्ञान, विज्ञान, इतिहास, दर्शन आदिको अथाह जानकारी पाठकले पाउने कुरा समेत बताए ।
साहित्यकार वासु शर्माले युरोपियन देशको भ्रमणका बारेमा लेखिएको यात्रामा लेखक जतातै नेपाल खोज्दै र सम्झंदै हिंडेको सुःखद पक्षको चर्चा �गर्दै भाया साक्राले शिक्षा मात्र होइन, आनन्द पनि दिने टिप्पणी गरे । साहित्यकार गोपी सापकोटा, दिनेश पौडेल, अर्कराज तिम्सिना, विजय हितानले पनि कार्यक्रममा आफ्नो धारणा राखेका थिए ।
नियात्राकार बजगाईंले आफूले विशेष मिहेनत र अनुसन्धान पश्चात भाया साक्रा लेखेको बताए। उनले यसरी नै आगामी दिनमा अरु नयां विषयमा यस्तै खोजमूलक नियात्रा लेख्ने प्रण गरेका थिए । बेलायतमा साहित्यिक अन्तरक्रिया, कविता वाचन आदि गतिविधिहरु साहित्य चौतारी यूकेले मासिक रुपमा संचालन गर्दै आएको छ ।






