राजधानीको वसन्तपुरमा तीन किशोरीहरुमाथि भएको एसीड आक्रमणका दोषीलाई कारवाहीको माग गर्दै उपत्यकाका विभिन्न स्थानमा आज पनि दबाबमुलक प्रदर्शन जारी छ । एकिकृत माओवादी सम्वद्ध विभिन्न भातृ संगठनहरुले आज वालुवाटारमा प्रदर्शन गरेका छन् । आक्रमण भएको ५ दिन हुँदासमेत प्रहरीले आक्रमणकारी पक्रन नसकेको भन्दै महिला अधिकारकर्मी सहितको र्याली वालुवाटार पुगेर प्रधानमन्त्री सुशिल कोईरालालाई ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले गत आईतवार भएको एसिड आक्रमणमा संलग्नलाई कारवाहीको माग गर्दै भविष्यमा समेत यस्ता आक्रमण हुन नदिन कडा कानुन बनाउनुपर्नेमा जोड दिए । आजै खेलाडीहरुले पनि त्रिपुरेश्वरबाट र्याली निकाली एसीड आक्रमणमा घाईते भएकाहरुको उपचारको व्यवस्था गर्दै दोषीलाई कारवाही गर्न माग गरेका छन् ।
आक्रमणमा घाईते भएकामध्येका एक जना सरिता मगर सोतोकान कराँतेकी खेलाडी समेत भएकोले खेलाडीहरु स्वस्फुर्त रुपमा सडकमा ओर्लीएका हुन् । यसअघि हिजो पनि दोषीमाथि कारवाहीको माग गर्दै राजधानीको विभिन्न ठाँउमा र्याली निकालिएको थियो ।
र्यालीमा सहभागीहरुले सार्वजनिक अपराध मानिने हालको कानुनलाई परिमार्जन गर्दै एसिड आक्रमणमा संलग्नलाई ज्यान मार्ने उद्योग अन्र्तगत कारबाही गर्नुपर्ने माग गरेका हुन् । उनीहरुले एसिड जस्ता अत्यन्तै खतरनाक र जोखीमयुक्त पदार्थको विक्रीवितरणमा कडाई गर्न समेत माग गरेका छन् ।
एसिड प्रकरणका दोषी पक्राउ परेनन्






