काठमाडौँ — कांग्रेस नेता एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्काको शुक्रबार साँझ निधन भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार ६८ वर्षीय खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा साँझ ५ बजेर १५ मिनेटमा निधन भएको हो ।
फागुन ४ गते राति हृदयाघात भएपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना भएका खड्कालाई फागुन ६ गते उपचारका लागि एपोलो लगिएको थियो। सुरुमा अवस्था सामान्य रहे पनि विस्तारै छाती र टाउकोमा समस्या देखिएको थियो भने मृगौलाले काम गर्न छाडेको थियो।
खड्काको ३० महिनाअघि एपोलोमै मृगौला प्रत्यारोपण गरिएको थियो।
खड्काको स्वास्थ्य जटिल भएपछि कांग्रेसले रमेश लेखक, शंकर भण्डारीलगायतका नेतालाई स्वास्थ्य अवस्था बुझ्न दिल्ली पठाएको थियो। बिहीबारमात्रै स्वदेश फर्किएका ती नेताले कांग्रेस केन्द्रीय समितिको शुक्रबारको बैठकमा स्वास्थ्य अवस्थाबारे रिपोर्टिङ गरेका थिए।
कांग्रेस प्रवक्ता शर्माले खड्काको पार्थिव शरीर नेपाल ल्याउनेबारे पार्टीले परिवारजनसँग सल्लाह गरिरहेको बताए। ‘श्रीमती र छोरी दिल्लीमै हुनुहुन्छ, छोरा पनि यूकेबाट दिल्ली जाँदै हुनुहुन्छ,’ शर्माले भने, ‘परिवारसँग सल्लाह गरेपछि पार्थिव शरीर ल्याउने टुंगो लाग्छ।’
कांग्रेसले एउटा टोली शनिबार नै दिल्ली पठाउने प्रवक्ता शर्माले बताए।






