प्रचण्डलाई बाबुरामको जवाफ- आफैं आत्महत्या गर्नुस्

नेपालगञ्ज – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाले र माओवादीवीचको एकतालाई प्रचण्डको राजनीतिक आत्महत्याको संज्ञा दिएका छन् ।

नेपालगञ्जमा सम्पन्न नयाँ शक्ति पार्टी, नेपाल प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ को संयुक्त प्रशिक्षणात्मक लुम्बिनी बैठकको भाव सम्प्रेषण कार्यक्रमलाई सम्बोधन गर्दै बाबुरामले आफुले ‘आत्महत्या’ गर्न नसक्ने पनि बताएका छन् ।

उनले आफूले विगतमा समाजवादी केन्द्रको स्थापना गर्ने उद्देश्यका साथ वामपन्थी गठबन्धनमा सामेल हुने निर्णय गरेको तर, एमाले र माओवादी केन्द्र त्यो उद्देश्यबाट विचलित भएकाले गठबन्धन छाडेर बाहिर आउनुपरेको बताए । उनले दुई पार्टीको एकतालाई ‘आत्महत्या’को संज्ञा दिए ।

‘एमाले माओवादीको एकता प्रचण्डको आत्मसमर्पण होइन, आत्महत्या हो’ उनले प्रचण्डले पटकपटक माओवादीमा फर्किन गरेको आग्रहलाई संकेत गर्दै व्यङ्ग्यात्मक रुपमा भने – ‘आत्महत्या नै गर्नु छ त आफैं गरे भयो, किन मलाई बोलाइरहनुभएको छ, मैले बुझ्न सकिरहेको छैन । उहाँले नसकेर हो वा मलाई पनिसँग लैजानुपर्छ भनेर हो मलाई बोलाइरहनुभएको छ, खै किन हो मलाई थाहा छैन ?’

नयाँ शक्ति पार्टी ‘दूध’ भएकोले ‘पानी’ बराबरका पुराना पार्टीहरुसँग ध्रुवीकरणमा नजाने बताएका छन् । उनले सोमबार गर्दै यस्तो बताएका हुन् ।

प्रचण्डले एकतामा आउन आव्हान गरिरहेका बेला बाबुरामको यस्तो जवाफ आएको हो ।