राष्ट्रपति सीको आक्रामक भाषण : दुश्मनविरुद्ध रक्तिम युद्ध लड्न तयार छौँ

बेइजिङ- चीनका राष्ट्रपति सी जिनपिङले १३ औँ नेशनल पिपल्स कङ्ग्रेसलाई सम्बोधन गरेका छन् । यसक्रममा उनले चीनलाई उदयमान विश्वको शक्तिको संज्ञा निकै आक्रमक र राष्ट्रवादी भाषण दिएका छन् ।

राष्ट्रपति सीले ‘समग्र एकता प्राप्ति’ ‘सबै चिनियाँ जनताको सामुहिक आशा’ रहेको बताउँदै यसलाई खण्डित गर्ने प्रयास असफल हुने बताएका हुन् ।

उनले सम्बोधनमा ताइवान र हङकङको पृथकतावादी अभियानविरुद्ध कडा चेतावनी दिएका छन् ।

उनले चीन हाल प्राप्त गरेको विकासमा मात्र सुसन्तुष्ट हुन नसक्ने चेतावनी पनि दिएका छन् ।

यता, प्रधानमन्त्री लि खस्याङले चीन व्यापारमा वैश्विक सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।

उनले चीनले आफ्नो अर्थतन्त्रलाई अझ खुला बनाउँदै घरेलु र विदेशी कम्पनीहरुले चीनको ठूलो बजारमा स्वच्छ प्रतिस्पर्धा गर्न मिल्ने वातावरण तयार गर्ने कुरा पनि राखे ।

सी सन् २०१३ मा पहिलो पटक चीनको राष्ट्रपति बनेका थिए र अब उनले आजीवन चीनको नेतृत्व गर्ने देखिएको छ । नेसनल पिपल्स कङ्ग्रेसले हालैमात्र राष्ट्रपति पदका लागि दुई कार्यकालको प्रावधान हटाएको थियो ।

उनलाई माओ त्से तुङपछि कै चीनको सबैभन्दा शक्तिशाली नेताको रुपमा हेरिन थालिएको छ । कङ्ग्रेसका दौरान आफ्ना निकटस्तहरुलाई महत्वपूर्ण भूमिका दिएर उनले आफूलाई झन् शक्तिशाली बनाएका छन् ।

ग्रेट हल अफ पिपलमा गरिएको सम्बोधनमा सीले चीनको इतिहासको मुख्य सफलताहरुलाई दोहोराएका थिए जसमा बारुदेखि कन्फुसियसका लेखाईसम्मको चर्चा गरेका थिए ।

उनले चीनका लागि आफ्नो भव्य योजना प्रस्तुत गर्दै भने, ‘इतिहासले देखाएको छ समाजवादले मात्र चीनको रक्षा गर्न सक्छ ।’

‘चीनका जनतासँग अन्त्यसम्म आफ्ना दुश्मनहरुसँग रक्तिम युद्ध लड्ने सहास छ,’ उनले भने, ‘हामी विश्वमा आफ्नै स्थान बनाउन संकल्पबद्ध छौँ ।’