लन्डन– एनआरएनए) यूकेको ‘बक्सिङ शो’सहित च्यारिटी डिनरको तयारी तीब्र पारिएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आपतकालिन परोपकारी कोषका लागि अल्डरसटस्थित एम्पायर हलमा मार्च ३१ तारिख शनिबार च्यारिटी डिनर हुँदैछ । कार्यक्रमबारे जानकारी दिन लन्डन साउथ हयारोस्थित हिमालयन किचनमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा एनआरएनए यूके उपाध्यक्ष एवं च्यारिटी विभाग प्रमुख तथा कार्यक्रम संयोजक प्रेम गाहामगरले कार्यक्रमबारे विस्तृत जानकारी दिएका थिए ।
बेलायत तथा नेपालमा हुने प्राकृतिक विपत्ति, अन्त्येष्टि वा मरण, मानवीय संकट, उपचार सहयोगजस्ता आपतकालिन सहयोगका लागि च्यारिटी कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक मगरले जानकारी दिए । कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन बक्सिङ शो समेत आयोजना गरिएको उनको भनाइ छ ।नेपाली तथा बेलायती खेलाडीहरुले झण्डै दुईघण्टा अवधिमा दश वटा द्वन्द्व प्रस्तुत गर्नेछन् ।
एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले निस्वार्थ र सहयोगी भावनाले च्यारिटी डिनर गर्न लागिएको बताउँदै कार्यक्रममा सहभागी भएर क्षमताअनुसार सहयोग गर्न अपिल गरे ।
एनआरएनए यूके महासचिव आर के त्रिपाठीले कार्यक्रममार्फत बेलायतमा रहेका नेपाली युवालाई अवसर प्रदान गर्ने उद्देश्य राखिएको जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदी रहनेछन् । च्यारिटी डिनरमा करिब ४५० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।
मिसेस नेपाल यूके विजेताहरुको समेत विशेष सहभागिता रहेको कार्यक्रममा एनआरएनए यूके सामूहिक लगानी विभाग प्रमुख गंगा राना, धर्म विभाग प्रमुख होमनाथ पौडेल लगायतले सहभागिता र सहयोगका लागि नेपाली समुदायसमक्ष अपिल गरेका छन् ।
हेर्नुस कार्यक्रमको प्रत्यक्ष प्रशारण लन्डन नेपाल न्यूज डट कममा शिब भण्डारीले तयार गरेको स्थलगत एक रिपोर्ट
—






