काठमाडौँ- माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकारमा सहभागी हुने बाँकी मन्त्रीहरुको नाम टुङ्ग्याउने जिम्मेवारी दिएको छ ।
शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासहितको बैठकले पार्टी अध्यक्षलाई मन्त्रीको नाम टुङ्ग्याउने जिम्मेवारी दिएको हो ।
यसअघि प्रचण्डले आज भरतपुर महानगरपालिकाको कार्यक्रममा चितवन जाने कार्यक्रम रद्द गरेर मन्त्रीको सूची टुङ्ग्याउन बैठक डाकेका थिए ।
बैठकमा प्रचण्डले मधेशवादी दलहरुलाई समेत सरकारमा सहभागी गराउनु पर्ने भएकाले एमालेसँगको पूर्वसहमति अनुसार माओवादीको भागमा परेको मन्त्रालयको संख्या घट्ने कुरा राखेका थिए ।
बैठकपछिको कुराकानीमा नेता श्रेष्ठले पार्टी अध्यक्षले मन्त्रीहरुको संख्या घटेको कारण मन्त्री छान्न समस्या हुन सक्ने कुरा राखेको जानकारी दिए ।
‘हामीले पार्टी अध्यक्षलाई नै मन्त्री छान्ने जिम्मा दिएका छौँ,’ श्रेष्ठले भने ।
दुई तिहाईको सरकार बनाउन सत्तारुढ बामगठबन्धनले मधेशवादी दलहरुलाई समेत सरकारमा सहभागी गराउने कसरतका कारण मन्त्रीपरिषदले हालसम्म पूर्णता पाउन सकेको छैन ।
यसबीचमा राष्ट्रपति र सभामुखको निर्वाचनको कारण पनि मन्त्रिपरिषद विस्तार रोकिएको थियो ।
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रो पटक मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।
तेस्रो पटकको मन्त्रिपरिषद विस्तारमा संघीय समाजवादी फोरम पनि समेटने तयारी भएको छ ।
एमाले र माओवादीबाट मन्त्रीको नामको टुंगो लाग्न वाँकी छ ।
शुक्रबार हुने मन्त्रिपरिषद विस्तारमा एमालेबाट प्रदिप ज्ञवाली, गोकुल वास्कोटा, प्रेम आलेमगर, रघुवीर महासेठ, रविन्द्र अधिकारी, भानुभक्त ढकाल मन्त्री हुने सम्भावना छ ।
यद्यपी योगेश भट्टराई, बसन्त नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ, छविलाल विश्वकर्मा, नारदमुनि रानाको नाम पनि चर्चामा छ ।
माओवादीबाट बर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणी पोखरेल र बीना मगरलाई मन्त्री बनाउने तयारी छ ।
फोरम अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने सम्भावना छ ।
फोरमबाट यादव सहित सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र उपाध्यक्ष रेणु यादव मन्त्री बन्ने चर्चा छ । फोरमले दुई मन्त्री र एक राज्यमन्त्री पाउने छ ।
राष्ट्रिय जनता पार्टी राजपा भने तत्काल सरकारमा नजाने भएको छ ।
ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।






