देउवा पक्ष आलोचनामा केन्द्रित

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि जारी छ । यसअघि, आइतबार बसेको बैठकमा केन्द्रीय सदस्यहरुले सरकार र पार्टी नेतृत्वको आलोचना गरेका छन् । वरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय सदस्यहरुले पार्टी सभापति सुशील कोइरालाको आलोचनामै समय खर्चेका थिए ।
पूरै कार्यकालभर कोइरालाले पार्टीको विभाग र कार्यसम्पादन समिति बनाउन नसकेको, भ्रातृ संस्थाहरुको अधिवेशन गराउन नसकेर अस्तव्यस्त बनाएको जस्ता आरोप देउवा पक्षीय सदस्यहरुले लगाएका थिए ।
देउवा खेमाकै मन्त्रीको समेत नेतृत्व गरेका कोइराला प्रधानमन्त्रीत्वमा सरकारको काम प्रभावकारी नदेखिएको, एमालेको छाँया जस्तो देखिएको आरोप पनि लगाइएको बताइन्छ ।
बैठकमा संविधान लेखन, विपक्षी दलहरुसँगको वार्ता प्रयास, पार्टी हित विपरित काम गर्ने नेता कार्यककर्तामाथि पार्टी अनुशासन समितिले गरेको सिफारिसअनुसार कारबाही गर्नुपर्ने जस्ता विषयमा सदस्यहरुले आफ्ना धारणा राखेका थिए ।