काठमाडौं– रुपन्देहीको देवदह नगरपालिका जसको आतंकमा थियो, त्यही ठाउँमा आखिर मनोज पुन कहिल्यै नउठ्ने गरी बुधबार बिहान ढले ।
मनोज पुन तिनै व्यक्ति हुन् जसको आतंकमा देवदहमात्र नभई देशका निर्माण व्यवसायी, ठूला व्यापारी थरथर हुन्थे । उनी विगत दुई वर्षदेखि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा थिए ।
प्रहरीका अनुसार उनले गत पुस २२ गते देवदह मै व्यवसायी वसन्त पौडेलको हत्या गराएका थिए । त्यसअघि देवदहमै युवा संघका नेता दुर्गा तिवारीको हत्या भएको थियो, जसमा प्रहरीले मनोज पुन कै संलग्नता रहेको दावी गर्दै आएको छ ।
लामो समय लुकिछिपी रहँदै आएका मनोज पुन भारत मै बस्ने गरेको सन्देहका साथ प्रहरीले भारतका विभिन्न सहरमा खोजतलास नगरेको होइन । तर उनलाई फेला पार्न सकेको थिएन ।
काठमाडौंमै दिनदहाडै निर्माण व्यवसायी महासंका अध्यक्ष शरद गौचनको हत्या भएपछि भने प्रहरीले उनको खोजीलाई तीव्रता दियो । किनकि, गौचनको हत्यामा संलग्न विभिन्न व्यक्तिलाई पक्राउ गरेको प्रहरीले उनीहरुसँगको बयानको आधारमा हत्यामा मनोज पुनको संलग्नता रहेको निष्कर्षमा पुग्दा पनि उनलाई फेला पार्न सकेको थिएन ।






