मुख्यमन्त्रीसहित दुई मन्त्रीले पनि लिए सपथः को हुन् राउत, सोनल र यादव ?

काठमाडौं– प्रदेश २ का मुख्यमन्त्रीसहित दुईजना मन्त्रीले आज सपथ लिएका छन् । मुख्यमन्त्रीमा लालबाबु राउत, आर्थिक मामिला तथा योजना मन्त्रीमा विजय यादव र भौतिक पूर्वाधार मन्त्रीमा जितेन्द्र सोनलले सपथ लिएका हुन् ।

मुख्यमन्त्री राउत फोरम नेपालका उपाध्यक्ष हुन् भने मन्त्री यादव कोषाध्यक्ष हुन् । मन्त्री सोनल राष्ट्रिय जनता पार्टी नेपालका महासचिव हुन् ।

तीन/तीन वटा मन्त्रालय पाएका यी दुई दलले हाललाई एक–एक जना मन्त्री मात्र पठाएका छन् । अरु मन्त्रीमा सहमति हुने वित्तिकै पठाउने बताइएको छ ।

यी तीनजनाले तीनवटा भाषामा सपथ लिएका छन् । मुख्यमन्त्री राउतले भोजपुरी भाषामा सपथ लिएका छन् । भोजपुरी राउतको मातृभाषा हो । यद्यपी सपथग्रहणपछि उनले हिन्दी र नेपाली भाषामा आफ्नो धारणा राखेका थिए ।

त्यस्तै मन्त्री यादवले आफ्नै मातृभाषा मैथिलीमा सपथ लिए भने अर्का मन्त्री सोनल हिन्दी भाषामा सपथ लिए । जो उनको मातृभाषा होइन ।

प्रदेश २ मा भाषा विवाद चलिरहेको छ । संसदमा लालबाबु राउत र जितेन्द्र सोनलले हिन्दीमा सम्बोधन गरेपछि विवाद शुरु भएको थियो ।

मधेशवादी दलले हिन्दीलाई मधेशको सम्पर्क भाषा बनाउनुपर्ने माग गरिरहेका छन् ।

जनकपुर चुरोट कारखानामा भएको सपथग्रहण कार्यक्रममा राजपा नेपालका संयोजक महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, फोरम नेपाल दुई नम्बर प्रदेशका इन्चार्ज रेणु यादव, राजपा नेपाकला उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल, राजपा नेपालका महासचिव चन्दा चौधरी, प्रतिनिधिसभा सदस्य प्रदीप यादवलगायको उपस्थिति थियो ।

को हुन् मुख्यमन्त्री राउत ?
सरकारी जागिर र प्रध्यापक पेसा छाडेर राजनीतिमा लागेका लालबाबु राउतको पृष्ठभूमि काँग्रेस रहेको छ । जितेन्द्र सोनल र भाग्यनाथ गुप्ताको संगतमा फोरम नेपालमा प्रवेश गरेका उनी दोस्रो सविधानसभामा सभासद् भएका थिए ।

मुख्यमन्त्री बन्नका लागि पर्साबाट प्रदेशसभा सदस्यमा जितेका लालबाबु आफ्नो रोडम्याप देखाएर पार्टीमा मुख्यमन्त्रीको पद हात पारेका हुन् ।
अग्रेजीमा एमए र एलएलबी समेत गरेका लालबाबु बौद्धिक नेताका रुपमा गनिन्छन् । मुख्यमन्त्रीको रुपमा प्रदेश २ लाई नमुना प्रदेश बनाउने बताउँदै कृषि, स्वास्थ्य र शिक्षामा आफ्नो विषेश जोड रहने उनले बताए ।

को हुन् मन्त्री सोनल ?
नेपाल सद्भावना पार्टीको विद्यार्थी नेताको रुपमा राजनीतिक शुरु गरेका सोनल पछि मधेशी जनअधिकार फोरम नेपालमा सहभागि भएका थिए ।
युवा नेताको रुपमा परिचित उनी उपेन्द्र यादवको निकट रहेर मधेशमा काम गरेका हुन् । पहिलो मधेश आन्दोलनपछि फोरम नेपाल विभाजन गरेका सोनल पछि महन्थ ठाकुरले गठन गरेका तमलोपामा सहभागि भएका थिए ।

पहिलो स‌ंविधानसभा चुनाव जितेका सोनलले दोस्रो संविधानसभा चुनाव हारेका थिए । पछि मुख्यमन्त्रीकै लागि उनी प्रतिनिधिसभाको चुनाव नलडेर बारा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभाको चुनाव जिते ।
उनी पार्टीका महासचिव हुन् । त्रिविबाट एमएसम्म पढेका उनी शुरुदेखि नै राजनीतिमा सक्रिय भएर लागेका थिए ।

भौतिक पूर्वाधार मन्त्रीमा सोनलले संक्षिप्त कुरा गर्दै भने, दुई नम्बर प्रदेशलाई बनाउने जिम्मा मैले पाएको छु, विकासका थुप्रै कार्यहरु गर्नुपर्ने देखिन्छ, पाँचवर्षको अवधिमा यसलाई सवल प्रदेशको रुपमा स्थापित गर्नु मेरो लक्ष्य रहनेछ ।’

को हुन् मन्त्री यादव ?
सिरहा औरही गाउँपालिकाका विजय यादव फोरम नेपालका कोषाध्यक्ष हुन् । काँग्रेस पृष्ठभूमीका उनी मधेश आन्दोलनसँगै तत्कालिन मधेशी जनअधिकार फोरममा आवद्ध भएका हुन् । भारत विहारको पटनाबाट सिभिल इन्जिनियरिङ् पढेका यादवले राजनीतिकमा लागेपछि अध्ययन छाडेका थिए ।

पटनाबाट अध्ययन सकाएर आएपछि उनलाई ठाउँठाउँबाट जागिरको अवसर आएको थियो । तर, मधेशमा आन्दोनल शुरु भइसकेका हुनाले आन्दोलनमा लागेका थिए । उनी सिरहामा पहिलो मधेश आन्दोलन परिचालन समितिको इन्चार्ज समेत थिए ।

पहिलो सविधानसभा चुनाव जितेका उनले दोस्रो सविधानसभा चुनाव हारेका थिए ।

मुख्यमन्त्री बन्नकै लागि प्रदेशसभा सदस्यमा चुनाव जितेका उनी मुख्यमन्त्री बन्न पाएनन् ।

उनको ठाउँमा पार्टीले लालबाबु राउतलाई मुख्य मन्त्री बनायो ।

झलनाथ खनाल नेतृत्वको सरकारको पालामा आपूर्ति मन्त्री बनेको अनुभव समेत बटुलेका यादव फोरम नेपालको सलहेस क्षेत्रको इन्चार्ज पनि हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्रीयादवले रातोपाटीसँग कुरा गर्दै भने, ‘आर्थिक रुपमा प्रदेश २ लाई सम्पन्न गराउनका लागि मेरो विशेष भूमिका रहनेछ ।’

प्रदेश २ आर्थिक रुपमा पिछडिएको क्षेत्र भएकाे यहीँको साधन स्रोतलाई प्रयोग गरि यसलाई सवल बनाउने बताउँदै उनले प्रदेश २ सबभन्दा बढी सम्भावना भएको प्रदेश रहेको प्रतिकृया समेत दिए ।