मध्यरातदेखि थपियो ४० मेगावाट विद्युत्

काठमाडौँ, १७ पुस । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा गएको मध्यरातदेखि थप ४० मेगावाट विद्युत् थप भएको छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीकाअनुसार ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात गरिएको हो ।

भारतको मुजफ्फरपुर सबस्टेसनमा जडान गरिएको एक सय एमभीएको ट्रान्सफर्मरबाट भारतको विद्युत् व्यापार गर्ने संस्स्था एनभिभिएमले प्रतियुनिट पाँच रुपैयाँ ६० पैसामा नेपाललाई विद्युत् उपलब्ध गराएको हो ।

भारतबाट यसअघि ३०० मेगावाटसम्म बिजुली आयात गर्ने गरिएको थियो । यसमा ४० मेगावाट थप भएको छ । मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्ने अभियान स्वरुप नै प्राधिकरणले भारतबाट थप विद्युत् आयात गरेको हो ।

प्रवक्ता अधिकारीले उक्त अन्तरदेशीय प्रसारण लाइनबाट यसअघि ८० मेगावाट विद्युत् आयात भइरहेको छ भने थप ४० मेगावाट आयात भएपछि १२० मेगावाट पुगेको छ । सोही प्रसारण लाइनबाट आगामी माघ १७ गतेदेखि थप ४० मेगावाट विद्युत् आयात गरिनेछ ।