काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम बन्दसूचि तीन दिनभित्र बुझाउन राजनीति दलहरुलाई पत्र पठाएको छ ।
आयोगको आज बसेको बैठले निर्वाचित दलहरुलाई तीन दिनको समय तोक्दै उक्त समयमा सम्बन्धित समावेशी समूहको प्रतिनिधित्व हुने गरी अन्तिम बन्दसूची बुझाउन भनेको छ ।
आयोगले समावेशी समूहको प्राथमिकता क्रमका आधारमा उम्मेदवार छनौट गरी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (५) बमोजिम सूचि पठाउन पत्र काटेको छ ।
आयोगले केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिबाट निर्णय गरी ३ (तीन) भित्र अर्थात् माघ २७ गतेदेखि माघ २९ गते साँझ ५ बजे (कार्यालय समय) भित्र दलहरूले नामावली निर्वाचन आयोगमा पेश गर्न भनेको छ ।
निर्वाचन आयोगले कार्यविधि छोट्याएर एक साताको समयलाई तीन दिनमा झारेर यो पत्र पठाएको हो ।
पाँच वटा दलले मात्र समानुपातिक तर्फको कोटा पाएको छ ।
तीन प्रतिशत मत ल्याउन नसक्ने दलले समानुपातिक कोटा पाएका छैनन् ।
समानुपातिकतर्फ एमालेले ४१, काँग्रेसको ४०, माओवादीको १७, राजपा ६ र संघीय समाजवादीले ६ सीट पाएका छन् ।
समानुपातिक तर्फका ११० मा ८४ जना महिला सांसद आउनेछन् ।
राजनीतिक दलहरुले प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र राष्ट्रिय सभातर्पm प्राप्त गरेको महिलाको सीट संख्याको आधारमा समावेशी सूचि तयार गर्नुपर्नेछ ।
त्यस अनुसार एमालेले कम्तीमा ३७, कांग्रेसले कम्तीमा २०, माओवादी केन्द्रले कम्तीमा १६, राष्ट्रिय जनता पार्टी नेपालले कम्तीमा ६ र संघीय समाजवादी फोरम, नेपालले कम्तीमा ५ जना महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनु पर्नेछ ।
महिलालाई छुट्याएर बाँकी रहेको संख्यामा समानुपातिकतर्फ एमालेका ४, माओवादीबाट १ र कांग्रेसका २० पुरुष सांसद बन्ने छन् ।






