काठमाडौं- प्रदेशसभाको पहिलो वैठकको मिति तयसँगै मुख्यमन्त्रीका आकांक्षीको दौडधूप शुरु भएको छ ।
अहिले प्रदेशको अस्थायी राजधानीमा प्रदेशसभाको पहिलो वैठकको तयारी चलिरहेको छ ।
प्रदेशसभाको पहिलो वैठकबाट सभामुखको निर्वाचनको मिति घोषणा हुने । एमाले र माओवादीले यस अघि ६ वटा प्रदेशमा मुख्यमन्त्री र सभामुख बाँडफाँड गरेका छन् ।
जस अनुसार प्रदेश १, २, ४ र ५ मा एमालेका मुख्य मन्त्री हुनेछन् भने प्रदेश ६ र ७ मा माओवादीले मुख्य मन्त्री पाएको छ । यसबाहेक ४ र ५ प्रदेशमा माओवादीका तर्फबाट सभामुख हुनेछन भने १, २, ६ ७ मा एमालेका तर्फबाट सभामुख हुनेछन् ।
नेपालमा नयाँ अभ्यासका रुपमा रहेको प्रदेशसभाका सम्बन्धमा संविधानको भाग १३, १४, १५ र १६ मा क्रमशः प्रदेश कार्यपालिका, प्रदेश व्यवस्थापिका, प्रदेश व्यवस्थापन कार्यविधि र प्रदेश आर्थिक कार्यप्रणालीको व्यवस्थाका साथै अन्य धारा एवम् अनुसूचीमा प्रदेशसभासँग सम्बन्धित विषय उल्लेख गरिएको छ।
संविधानको धारा १८४ उपधारा १ मा प्रदेश प्रमुखले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थितिको आह्वान गर्न सक्ने उल्लेख छ।
उक्त धाराकै उपधारा २ मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशनको प्रारम्भ भएपछि प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने उल्लेख छ।
कस्तो हुँदैछ प्रदेशमा तयारी
प्रदेश १ : प्रदेशसभाको पहिलो बैठक बस्ने सभाभवनको मर्मतकार्य तीव्रगतिमा भइरहेको छ । विराटनगरस्थित जिल्ला समन्वय कार्यालयको सभाभवनमा प्रदेश नं । १ को प्रदेशसभाको पहिलो बैठक बस्ने छ ।
बैठक हुने भवनको रंगरोगनका साथै आवश्यक पूर्वाधार निर्माणका कार्यसमेत अन्तिम चरणमा पुगेको छ ।
सभाभवनको मञ्चमा सभामुख, संसद् सचिव र कार्य व्यवस्थाको कुर्सी राखिने निर्देशनअनुरुप व्यवस्था मिलाइएको छ । मञ्चको मुनी अघिल्लो पंक्तिमा उपसभामुख, उच्चपदाधिकारीका कुर्सी राखिनेछ । मञ्चबाहेक एकसय ४० वटा कुर्सीको व्यवस्था गरिएको हो ।
एकतर्फ सतापक्ष र अर्कोतर्फ प्रतिपक्षको कुर्सी राखिनेछ । प्रतिपक्षको पछाडिको भागमा सञ्चारकर्मीलगायतको कुर्सी राख्ने व्यवस्था मिलाइएको छ । ती कुर्सीमा सेतो रंगको भर र पिठँयूमा राख्ने क्याप आकासे रंगको हुने छ ।
प्रदेश १ मा एमालेका ५१, काँग्रेसका २१, माओवादीका १५, संघीय समाजवादी फोरमका ३, राप्रपाका १, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका १ र स्वतन्त्र १ गरी ९३ सांसद छन् ।
प्रदेश २ : जनकपुरस्थित जिल्ला शिक्षा कार्यालय, धनुषाको प्राङ्गणभित्र रहेको शैक्षिक तालिम केन्द्रमा प्रदेश नं २ को प्रदेश सभाको पहिलो बैठक यही माघ २१ गते बस्ने भएकाले तीव्रगतिमा त्यसको तयारी भइरहेको छ ।
यही माघ २१ गते बिहान ११ बजे बस्न लागेको उक्त बैठकका लागि सभाहलभित्र फर्निचर तथा सजावटको काम जारी छ । गत माघ ७ गते प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभा सदस्यलाई जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृहमा शपथ ग्रहण गराएका थिए । बैठक भवन वरिपरिका भवनलाई नयाँ रुप दिन कामदार निकै व्यस्त देखिन्छन् । प्रदेश सभाको बैठकका लागि तालीम केन्द्रलाई तीव्रताका साथ बेहुलीलाई झैँ श्रृङ्गार गरिँदैछ ।
जनकपुर उपमहानगरपालिकाको कुवारामपुरस्थित शैक्षिक तालीम केन्द्रको रुप नै परिवर्तन गरिँदैछ । भवनहरु रंगरोगन गर्ने काम, आवश्यक फर्निचर व्यवस्थापन, मर्मतसम्भार र सरसफाइका कारण रुप पहिलेको भन्दा फरक देखिएको हो ।
बैठकका लागि भवन रंगाउने काम, आवश्यक फर्निचर व्यवस्थापन, मर्मतसम्भार, सरसफाइको तदारुकताका साथ भइरहेको छ ।
जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली)को कभर्ड हललाई स्थायीरुपमा प्रदेश सभा भवनका रुपमा प्रयोग गर्ने सरकारको तयारी छ । जचुकालीको भवन जीर्ण रहेको र मर्मतसम्भार गर्न केही समय लाग्ने भएकाले तत्कालका लागि शैक्षिक तालीम केन्द्रलाई उपयोगमा ल्याउन लागिएको धनुषाका प्रजिअ दिलीप चापागाईंले बताए ।
प्रदेश २ मा एमालेका २१, काँगेसका १९, माओवादीका ११, संघीय समाजवादी फोरमका २९, राजपाका २५, नेसस पार्टीका १ र स्वतन्त्र १ गरी १०७ जना प्रदेश संसद छन् ।
प्रदेश ३ :यहाँ माघ १८ गते प्रदेशसभाको बैठक बस्ने भएको छ । प्रदेश प्रमुख अनुराधा कोइरालाले मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडामा बस्नेगरी बैठक आह्वान गरेकी छिन् ।
दिउँसो १ बजे बस्ने बैठकको तयारी भइरहेको छ । बैठकको औपचारिक जानकारी दिन यहाँ आइतबार सार्वजनिक सूचना जारी गरिएको थियो ।
यहाँ एमालेका ५८, काँग्रेसका २१, माओवादीका २३, राप्रपाका १, विवेकशिल साँझाका ३, नयाँ शक्तिका १, नेमकिपा २ र राप्रपा प्रजातान्त्रिक १ गरी ११० जना सांसद छन् ।
प्रदेश ४ : यहाँ माघ २२ गते प्रदेशसभाको बैठक बस्ने तय भएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले पोखराको नदीपुरस्थित पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बस्नेगरी बैठक आह्वान गरेका छन् ।
बैठक बिहान ११ बजे बस्नेछ । बैठकबारे आइतबार औपचारिक सूचनामार्फत जानकारी दिइएको छ ।
प्रदेश ४ मा एमाले, कांगे्रस, माओवादी केन्द्र, जनमोर्चा र नयाँ शक्ति नेपाल गरी पाँच दलको प्रतिनिधित्व छ । ६० सदस्यमध्ये एमालेका २७, कांगे्रसका १५, माओवादीका १२, जनमोर्चाका ३, नयाँ शक्तिका २ र स्वतन्त्र १ सदस्य रहेका छन् । निर्वाचन परिणाम आएको २० दिनभित्र संसद् बस्नुपर्ने नियम भएकाले सोहीअनुसार बैठक बस्न लागेको हो ।
प्रदेश ५ : प्रदेशसभाको बैठक यही माघ २१ गते बस्ने भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले बुटवल उद्योग वाणिज्य संघको सभाहलमा बैठक आह्वान गरेको प्रदेश प्रमुख कार्यालय सचिव सनतकुमार दवाडीले जानकारी दिए। बैठक दिउँसो १ बजे बस्नेछ ।
यो प्रदेशमा एमाले ४१, काँग्रेस १९, माओवादी २०, संघीय समाजवादी फोरम ५, राजपा १, राष्ट्रिय जनमोर्चा १ गरी ८७ सांसद छन् ।
प्रदेश ६ : यहाँ पनि माघ २१ गते नै बस्नेछ । ६ नम्बरको बैठक वीरेन्द्रनगरस्थित सिचाई डिभीजनको कार्यलयमा बस्नेछ ।
दलहरूबीच जिल्ला समन्वय समितिको भवन वा सिँचाइ डिभिजनको कार्यालयमा पहिलो अधिवेशन बस्ने भन्ने विवाद थियो । प्रदेश प्रमुखको कार्यालयका सचिव भरत ढुंगानाका अनुसार प्रदेश सभाको स्थायी भवन शैक्षिक जनशक्तिको तालिम केन्द्रमा तोकिए पनि अहिले अस्थायी भवन भने सिँचाइ डिभिजन कार्यालयबाट सञ्चालन भइरहेको छ ।
यहाँ एमालेका २०, काँग्रेस ६, माओवादी १३, राप्रपा १ गरी ४० सांसद छन् ।
प्रदेश ७ : माघ २१ गते बैठक बस्ने भएको छ। प्रदेश प्रमुख मोहनराज मल्लले धनगढीस्थित जिल्ला समन्वय समितिको सभाहलमा प्रदेशसभा बैठक बोलाएका छन् । बैठक दिउँसो १ बजेदेखि सुरु हुने बताइएको छ ।
प्रदेश सभाकी ज्येष्ठ सदस्य दिव्येश्वरी शाहले बैठकको अध्यक्षता गर्नेछिन् ।
प्रदेश सभामा जम्मा ५३ सदस्य रहेका छन्, जसमा एमाले २५, काँग्रेस १२, माओवादी १४ र राजपाका २ सांसद छन् ।
मुख्यमन्त्रीका लागि दौडधूप
प्रदेशसभाको वैठकको तयारीसँगै मुख्यमन्त्रीका आकांक्षी पनि दौडधूपमा छन् ।
एमालले सहमति जुटन नसके आन्तकिर चुनाव मार्फत संसदीय दलको नेता चयन गर्ने र उसलाई मुख्य मन्त्री बनाउने निर्णय गरेको छ ।
माओवादीले आफ्नो भागमा परेका प्रदेशमा कसरी मुख्य मन्त्री चयन गर्ने भन्ने औपचारिक निर्णय लिएको छैन ।
अहिलेसम्मको समीकरण अनुसार प्रदेश नम्बर ५ बाट नेकपा एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ । एमाले ५ नम्बर प्रदेशको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा यसअघि नै पोखरेललाई संसदीय दलको नेताका रुपमा चयन गरिसकेको छ ।
प्रदेश नम्बर १, ३ र ४ मा संसदीय दलको नेता चयन हुन नसक्दा को मुख्यमन्त्री बन्ने भन्ने एमालेमा टुंगो लागेको छैन । एमालले माघ २४ गतको राष्ट्रियसभाको चुनावपछि मात्र ती प्रदेशका संसदीय दलको नेता चयन गर्न निर्देशन दिएको छ ।
प्रदेश नम्बर १ मा एमालेको नेतृत्व हुने सहमति भएपनि दुई जना आकांक्षी रहेका छन् । नेता शेरधन राई र भीम आचार्य मुख्यमन्त्रीको आकांक्षी रहेका छन् ।
देश नम्बर ३ बाट एमाले नेताद्वय अष्ठलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे मुख्य आकांक्षी रहेका छन् । यसो त सानुकुमार श्रेष्ठ तथा केशब स्थापित समेतले मुख्यमन्त्रीमा आकांक्षा देखाएका छन् ।
प्रदेश नम्बर ४ बाट एमाले नेता पृथ्वीशुब्बा गुरुङ तथा किरण गुरुङ आकांक्षी रहेका छन् ।
प्रदेश नम्बर ६ बाट माओवादी केन्द्रका महेन्द्र बहादुर शाही र नरेश भण्डारी मुख्यमन्त्रीका दाबेदार छन् ।
यसैगरी प्रदेश नम्बर ७ बाट माओवादी केन्द्रकै वीरमान चौधरी र झपट बोहरा रहेका छन् ।
प्रदेश नम्बर २ मा मधेसी गठबन्धनका ५ जना आकांक्षी रहेका छन् । संघीय समाजवादी फोरमका विजय यादव , लालबाबु रावत र शैलेश शाह तथा राजपाबाट जीतेन्द्र सोनल र मनिष सुमन दाबेदार छन् ।






