विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएका अवसरमा आज नेपाली सैनिक मञ्चमा ६५औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । सो अवसरमा राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय सलामी ग्रहण गर्नुभएको थियो । कार्यक्रममा प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष तथा प्रधानमन्त्री कोइरालाले आफ्नो सम्बोधनको सुरुमै २००७ सालको क्रन्तिका नायक विश्वेश्वरप्रसाद कोइरालालाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभयो । प्रजातन्त्रका लागि ज्यानको आहुति दिने सबै सहिदप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “२००७ सालको जनक्रान्तिले जहानियाँ राणाशासनको अन्त्य मात्र गरेन, नेपालको लोकतन्त्र र नेपाली समाजलाई आधुनिक युगमा प्रवेश गराएकाले यस दिनको विशिष्ट महत्व छ ।”
विभिन्न क्रान्तिबाट प्राप्त भएका ऐतिहासिक उपलब्धिलाई लिपिबद्ध गरी संस्थागत गर्न संविधानसभाभित्र र बाहिरका राजनीतिक दलसँग संवाद भइरहेको अवगत गराउँदै प्रधानमन्त्री कोइरालाले यसमा सबै नेपाली र मित्र शक्ति राष्ट्रको इमान्दार सहयोग र सद्भावको आवश्यकता रहेकामा जोड दिनुभयो ।
विसं २००७ को जनक्रान्तिले मुलुकमा प्रजातन्त्रको सुनौलो बिहानी ल्याएको ऐतिहासिक अवसरमा सूम्पूर्ण नेपालीलाई बधाई तथा उज्ज्वल भविष्यको कामना व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “लोकतान्त्रिक शासन पद्धतिलाई संस्थागत गरी अभ्यास गर्ने प्रयासमा व्यवधान सिर्जना भए पनि मुलुक लोकतन्त्रको आलोकप्रति निरन्तर अग्रसर रहिरह्यो, पछाडि फर्केन, त्यसैले २००७ सालको जनक्रान्तिलाई सबै क्रान्तिको जननीका रुपमा मैले लिएको छु ।” नयाँ बन्ने संविधानले मुलुकका सबै जातजाति, भाषाभाषी, वर्ग र क्षेत्रको अधिकारलाई सुनिश्चित गर्ने बताउँदै प्रधानमन्त्री कोइरालाले विगतका आपसी आग्रह पूर्वाग्रह तथा आपसी असमझदारीको अन्त्य गरी एकबताबद्ध हुन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा, कामु प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, मन्त्रिगण, सभासद्, सुरक्षा निकायका उच्च अधिकारी, संवैधानिक निकायका पदाधिकारी, कूटनीतिक निकायका प्रतिनिधि, विभिन्न उच्च सरकारी पदाधिकारीलगायतको सहभागिता थियो । कार्यक्रम सुरु हुनुअघि बिहान प्रधानमन्त्री कोइराला, उपप्रधानमन्त्रीद्वय, मन्त्री, सभासद्, सरकारी उच्च पदाधिकारी सहिदढोकामा जम्मा भई बाजागाजासहित खिचापोखरी, जुद्ध सालिक, इन्द्रचोक, भोटाहिटी, रत्नपार्क हुँदै सैनिकमञ्च प्रवेश गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली सेनाको विमानबाट ‘प्रजातन्त्र दिवस–२०७१’ अङ्कित ब्यानर प्रदर्शन र पुष्पवृष्टि हुनाका सााथै बेलुन उडाइएको थियो भने सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, राष्ट्रिय सेवा दल, नेपाल स्काउट र विद्यार्थीले मार्च पास्ट गरेका थिए । त्यस्तै काठमाडौँ, ललितपुर, भक्तपुर, मध्यपुरथिमि र कीर्तिपुर नगरपालिकाले सांस्कृतिक झलक प्रदर्शन गर्नाका साथै राष्ट्रिय खेलकुद परिषद्बाट विभिन्न खेल प्रदर्शन गरिएको थियो ।
सात साल सबै क्रान्तिको जननी : प्रम






