काठमाडौं, १५ आषाढ । संविधानको प्रारम्भिक मस्यौदा पेश गर्न मंगलबार (आज) दिउँसो २ बजेका लागि बोलाइएको संविधानसभाको बैठक साँझ ६ बजेका लागि सारिएको छ । मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले बैठकमा मस्यौदा पेश गर्ने कार्यक्रम भएपनि दलहरुबीच अझै सहमति नबन्दा बैठक साँझलाई सारिएको हो । संविधानको मस्यौदामा समावेश केही बुँदामा दलहरुबीच विवाद हुँदा सोमबार पनि बैठकमा मस्यौदा पेश गर्न सकिएको थिएन । राति अबेरसम्म बसेर मुख्य दलका शीर्ष नेताहरुले विवादित विषयमा सहमति जुटाएको भनिएपनि फेरि दिउँसोको बैठक पनि सरेको हो । एकीकृत माओवादीसहितका दलहरुले १६ बुँदे राजनीतिक सहमति र त्यसपछि संविधानसभाका विभिन्न संयन्त्रहरुमा भएका सहमतिविपरित मस्यौदा परिमार्जन गरेको भन्दै आपत्ति जनाएपछि सोमबार विवाद चर्किएको थियो । मुख्य दलहरुबीच १६ बुँदे राजनीतिक सहमतिअनुरुप मस्यौदालाई एकरुपता दिने कि त्यसअघिका सहमतिलाई जस्ताको त्यस्तै निरन्तरता दिने, संसदीय व्यवस्थालाई अपरिवर्तनीय धारामा राख्ने कि नराख्ने, सर्वोच्चका न्यायाधीशसहित संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्ति गर्ने कि नगर्नेमा विवाद थियो । त्यसैगरी, वंशजको नागरिकता आमा र बाबु दुबै नेपाली नागरिकका सन्तानलाई मात्र हुने कि आमा वा बाबु भए हुने, संघीय सदनमा महिलाको ३३ प्रतिशत उपस्थिति सुनिश्चित गर्ने कि उम्मेदवारी मात्र सुनिश्चित गर्ने, जिल्ला निकायको संरचनामा जिल्ला तह राख्न कि नराख्ने भन्नेलगायतका विषयमा पनि विवाद देखिएको थियो ।
संविधानसभाको बैठक आज साँझ






