चेल्सी बराबरीमा रोकियो

युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा मंगलबार रातिबाट नकआउट चरणका खेलहरु सुरु भएका छन् । प्रिक्वार्टरफाइनलअन्तर्गत् भएका दुबै खेल बराबरीमा सकिएका छन् । फ्रान्सको पेरिसमा भएको खेलमा घरेलु टोली पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग इंग्लिस क्लब चेल्सी बराबरीमा रोकिएको छ । खेलमा चेल्सीका ब्रानिस्लाभ इभानोभिचले पहिलो गोल गरे । तर, पीएसजीका एडिन्सन काभानीले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।
मंगलबार राति भएको अर्को खेलमा युक्रेनको शख्तर डोनेट्स्कले जर्मनीको बायर्न म्युनिखलाई गोलरहित बराबरीमा रोकेको छ । च्यापियन्स लिग फुटबलअन्तर्गत् बुधबार राति दुई खेल हुनेछन् । स्वीट्जरल्यान्डमा हुने खेलमा घरेलु टोली एफसी बासलसँग पोर्चुगलको एफसी पोर्टो भिड्नेछ । यसैगरी, जर्मनीमा हुने खेलमा शाल्का र स्पेनको रियाल मड्रिड आमने–सामने हुनेछन् ।