जनमतलाई सम्मान गर्छौं, पार्टी एकता हुन्छ : अध्यक्ष दाहाल

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विगतमा विकासका निम्ति राजनीति होइन, राजनीतिका निम्ति विकास हुन गएका कारण मुलुकले समृद्धि हासिल गर्न नसकेको बताउनुभएको छ ।

चौथो तारेभिर महोत्सवको आज गोकर्णेश्वर नगरपालिकाको तारेभिरमा उद्घाटन गर्दै उहाँले भन्नुभयो – “विकासका लागि राजनीति गर्ने अवसर आएको र नेपाली जनताले सोही प्रयोजनका लागि वाम गठबन्धनलाई दुई तिहाइको हाराहारीमा जनमत दिएको छ ।”

अध्यक्ष दाहालले शक्तिशाली कम्युनिस्ट केन्द्र बनाउने र मुलुकलाई आर्थिकरुपमा सबल, सक्षम बनाउने लक्ष्यका साथ नेकपा(एमाले) र माओवादी केन्द्र संयुक्तरुपमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गएका कारण जनताले विश्वास गरेको स्पष्ट पार्नुभयो ।

“पार्टी एकताको प्रक्रिया अगाडि बढिसकेकाले अब पछाडि फर्कने कुनै पनि बाटो रहेको छैन्” उहाँले भन्नुभयो, “नेपाली जनताले पार्टी एकतालाई मतद्वारा अनुमोदन गरिसेकका छन् ।”