काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बलुवाटारमा बोलाएको सर्वदलीय बैठकमा राजनीतिक सहमतिका आधारमा राष्ट्रियसभाको निर्वाचन, प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्न प्रस्ताव गरे पनि वाम गठबन्धनका नेताहरु त्यसमा सहमत भएनन् ।
प्रधानमन्त्री देउवाले बिहीबार बिहान प्रतिनिधिसभाका राष्ट्रिय पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका थिए। दलहरुबीच सहमति भए आजै मन्त्रिपरिषद् बैठक राखेर प्रदेश प्रमुख नियुक्त गर्ने र अस्थायी राजधानी तोक्ने तयारी सरकारको थियो।
कांग्रेस नेता रामचन्द्र पौडेलका अनुसार एमालेका नेताहरु प्रदेश प्रमुख तथा अस्थायी राजधानी तोक्ने काम सरकारको भएको उल्लेख गर्दै सरकारले आफ्नो काम गर्न भनेका थिए । यस सम्बन्धमा के कस्ता प्रतिवेदनहरु छन्, त्यस सम्बन्धमा आफुहरुलाई जानकारी नभएको उल्लेख समेत गरेका थिए ।






