तमु धिं यूकेको ल्होसार आज रेडिंगमा धुमधामले मनाउदै

शिब भण्डारी ,लण्डन । तमु धिं यूकेले हरेक वर्ष ल्होसारको अवसरमा गर्ने विशेष कार्यक्रम  आज डिसेम्बर ३० तारिख,शनिबार भब्य तयारी साथ हुंदैछ।

रेडिंगको रिभरमेड लिजर सेन्टरमा हुने ल्होसार कार्यक्रमका लागि तयारी लगभग पूरा भएको बताइएको छ । ल्होसार कार्यक्रममा प्रस्तुति गर्न नेपालबाट गायिका मेलिना राई र गायक नरजंग गुरुंग बुधबार लण्डन उत्रिएका छन् ।

यसअघि बेलायतमै रहेका गायिका बिमाकुमारी दुरा, गायक धन गुरुंग, गायिका मञ्जु विक र नायिका अश्मी गुरुंग पनि अतिथी कलाकारका रुपमा कार्यक्रममा सहभागी हुंदैछन् । बिहान धार्मिक पूजाको कार्यक्रम रहनेछ भने सांझ ६ बजेदेखि औपचारिक र सांस्कृतिक कार्यक्रमहरु सुरु हुनेछन् ।

धार्मिक पूजाको लागि गुप्ती गुरुंग, से नाम्खा दोर्जे गुरुंग, खेम्पो छेवांग घले, खेम्पो भजेन्द्र शिला , जनता गुरुंग लगायतका लामा धर्मगुरुहरु बेलायत आएका छन् । उनीहरुले बिहान दश बजेदेखि दिउंसोसम्म विभिन्न धार्मिक पूजा, ग्रहशान्ति गर्नेछन् । औपचारिक कार्यक्रम सांझ ६ बजेदेखि सरु हुनेछ । जसको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तथा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले गर्नेछन । कार्यक्रममा रेडिंगका डेपुटी मेयर, एनआरएनका अगुवाहरु, बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधी लगायतका अतिथीहरु पनि सहभागी हुनेछन् ।

यसै बीच तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले खी ल्होछार (कुकुर वर्ग) को अग्रिम शुभकामना व्यक्त गर्दै सबै तमुहरुलाई कार्यक्रममा उपस्थित भएर आफ्नो महान पर्व उमंगका साथ मनाउन अपिल गरेका छन् ।