राष्ट्रपति भण्डारीले लिइन् डा. देवकोटाको स्वास्थ्यमा चासो

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएकी छन् ।

राष्ट्रपति भण्डारीले बेलायतको लन्डन स्थित किग्ङ्स कलेज अस्पतालमा उपचार गराइरहेको ६३ वर्षीय डा. देवकोटालाई सोमबार अपरान्ह टेलिफोन गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपतिसँगको टेलिफोन संवादमा डा. देवकोटाले आफ्नो पित्तथैलीमा समस्या देखिएको र अहिले स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएको स्रोतको भनाई छ । यस्तै राष्ट्रपति भण्डारीले शनिबार पनि लन्डनस्थित नेपाली दूतावासमार्फत डा. देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएकी थिइन् ।

नेपालका उत्कृष्ट न्यूरो सर्जन डा. देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै आइतबार पशुपति मन्दिरमा दीप प्रज्वलन गरिएको थियो ।