सरकार तथा मोर्चाले अहिले वार्ता र संवादद्वारा नै सहमति कायम गरी अघि बढ्नुपर्नेमा विभिन्न राजनीतिक दलका नेताहरुले सुझाएका छन् । रिपोटर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा विद्यमान अवस्थाबाट मुलुकलाई निकास दिन एकअर्काबीच विश्वास र सहकार्यको खाँचो रहेकामा जोड दिनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताले प्राप्त गरेको विभिन्न अधिकारलाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै सङ्घीयताका कारण दलहरुबीच समस्या उत्पन्न भएकाले त्यसलाई संविधानसभाको विधि तथा प्रक्रियाबाट टुङ्गो लगाएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले लोकतन्त्रको अन्तर्राष्ट्रिय अभ्यास, प्रक्रिया तथा पद्धतिलाई सबैले स्वीकार्नु पर्ने भन्दै अहिलेको समाजमा पहिचानको नाममा द्वन्द्व गर्न नहुनेमा जोड दिँदै सरकार तथा मोर्चाबीच अहिलेको अविश्वासलाई वार्ता र संवादबाट नै समाधान खोज्नुपर्ने बताउनुभयो ।
नेकपा(एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले विश्वासको सङ्कटलाई अन्त्य गर्न खाँचो रहेको औँल्याउँदै सरकारले संविधानसभाको बैठक स्थगन गरी सहमतिका आधार तयार गरेको त्यसलाई सही अर्थमा मोर्चाले बुझ्नुपर्ने बताउनुभयो ।
एकीकृत नेकपा(माओवादी)का नेता देवेन्द्र पौडेलले दोस्रो जनआन्दोलनका सहयात्री तथा सरोकार पक्षलाई सम्बोधन हुने गरी संविधान निर्माणका प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो । राप्रपा नेपालका नेता दीलनाथ गिरीले दलबीच सहमति कायम हुन नसकेको तथा विधि र प्रक्रिया पनि हुन नसकेको अवस्थामा विवादित विषयलाई जनमत सङ्ग्रहबाट टुङ्गो लगाउनुपर्नेमा जोड दिनुभयो ।
दलहरुबीच विश्वासको खाँचो






