काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रबीच ध्रुवीकरण गाढा हुँदै गएको छ । सार्क मुलुककै शक्तिशाली मानिने भारतविरुद्धको मोर्चाबन्दी कसिलो हुँदै गएको छ ।
पछिल्लो समय माल्दिभ्सले भारतलाई आफ्नो ‘सबैभन्दा ठूलो दुश्मन’ ठहर गरेको छ । यसअघि भारत र पाकिस्तानबीच शक्ति संघर्षका साथै कुटनीतिक द्वन्द्व हुँदै आएको थियो । अब माल्दिभ्सले पनि भारतविरुद्धको मोर्चामा आफूलाई प्रष्ट रुपमा उभ्याएको छ ।
माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिनको निकट मानिने अखबार ‘भागुथु’ ले आफ्नो सम्पादकीयमा भारतलाई देश कै सबैभन्दा ठूलो दुश्मन ठहर गर्दै चीनलाई आफ्नो मित्र मानेको छ । पछिल्लो समय माल्दिभ्सले चीनलाई बढी महत्वसमेत दिदैं आएको छ । केही परियोजनमा चीनलाई भित्र्याएको माल्दिभ्सप्रति भारत सशंकित हुँदै आएको समयमा सरकारी मुखपत्र मानिने सो अखबारले भारतसँगको सम्बन्धलाई थप उजागर गरिदिएको हो ।
सो अखबारले सम्पादकीयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुस्लिम विरोधी ठहर गरेको छ । सम्पादकीयमा श्रीलंका र कश्मिरमा भारतले अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको तथा माल्दिभ्समा सरकार अपदस्थ गर्न खोजेको आरोप लगाइएको छ ।






