पूर्व सांसद झासहित महोत्तरीमा १८० उम्मेदवारको जमानत जफत

गौशाला- महोत्तरी जिल्लामा मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १ सय ८० उम्मेदवारको जमानत जफत भएको छ ।

निर्वाचन अधिकारी पिंकी रायका अनुसार जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएका २ सय १३ उम्मेदवारमध्ये १ सय ८० जनाको जमानत जफत भएको हो ।

कूल खसेको सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था बमोजिम जिल्लामा सम्पन्न निर्वाचनमा पूर्व सांसद चन्देश्वर झासहित १ सय ८० जनाको जमानत जफत भएको उनले बताए । पूर्व सांसद झाले महोत्तरी ३ नं क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा राजपाको बागी भएर स्वतन्त्र उम्मेदवारी दिए ।

निर्वाचन अधिकारी रायका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १ मा नौ, क्षेत्र नं २ मा १६, क्षेत्र नं ३ मा १८ र क्षेत्र नंम्बर ४ मा १६ जनाको जमानत जफत भएको हो ।

त्यस्तै प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १ को ‘क’ मा आठ, ‘ख’ मा १२, क्षेत्र नं २ को ‘क’ मा पाँच, ‘ख’ मा १९, क्षेत्र नं ३ को ‘क’ मा ११, ‘ख’ मा ३०, क्षेत्र नं ४ को ‘क’ मा १५ र ‘ख’ मा २१ जनाको जमानत जफत भएको उनले जानकारी दिए । जमानत जफत हुनेमा ३६ जना स्वतन्त्र र बाँकी अन्य दलका उम्मेदवार थिए ।