जनकपुर- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता एवं धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र महतोले आफूले जिते जनकपुरको स्वास्थ्य क्षेत्रमा ठुलो सुधार गर्ने बताउनुभएको छ ।
आज धनुषाका स्वास्थ्यकर्मीहरूको भेलालाई सम्बोधन गर्दै नेता महतोले जनकपुरका अस्पतालहरूको दुर्गती र स्वास्थ्य क्षेत्रको अवस्था निकै दयनीय अवस्थामा रहेकोले त्यसको सुधारमा आफू जुट्ने बताउनुभयो । नेता महतोले प्रतिनिधिसभा निर्वाचनमा आफ्ना प्रतिस्पर्धि कांंग्रेसका विमलेन्द्र निधि माथि कटाक्ष गर्दै भन्नुभयो-‘जनकपुरको स्वास्थ अवस्थालाई यसरी सुधार गरिने छ कि कुनै पनि भिआईपीलाई निमोनिया जस्तो साधारण रोगको उपचार गर्न काठमांडौ जाने बाध्यता रहनेछैन ।’
पटक पटक सरकारमा बस्दा अस्पताल सधुरका लागि कुनै काम नगरेको भन्दै महतोले थप्नुभयो, ‘त्यतिबेला अस्पताल राम्रो बनाएको भए अहिले उपचार गर्न काठमाडौं पुग्नुपर्ने थिएन ।’
चुनाव प्रचारका क्रममा निमोनिया भएपछि निधि काठमाडौं आएर ओम अस्पतालमा भर्ना भएर उपचार गरिरहनुभएको छ ।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका महतोले आफ्नो कार्यकालमा ५ सय बेडको अस्पताल र ५० करोडको उपकरणको लागि स्वीकृति गराएपनि त्यसको सही उपयोग अहिलेसम्म नभएको गुनासोसमेत गर्नुभयो । महतोले जनकपुरको अस्पतालको स्तरोन्नति गरि आधुनिक सुविधायुक्त हस्पीटल बनाउने आफ्नो संकल्प रहेको बताउनुभयो ।






