प्रचण्डलाई कमल थापाको सुझाव, तर भयो उल्टो आलोचना

काठमाडौँ- उर्जामन्त्री कमल थापाले पुत्रवियोगको पीडा खेपिरहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जनयुद्धको क्रममा मारिएका छोराहरुको आमाबाबुसँग माफी माग्न सुझाव दिएका थिए ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका थापाले यस्तो सुझाव दिएका हुन् ।

उनले लेखेका छन्, ‘पुत्र–पुत्री शोकको पिडा कति असह्य हुन्छ शब्दमा बर्णन गर्न सकिन्न । प्रकाशको निधनले प्रचण्ड परिवारमा पर्न गएको क्षतिमा सबैको सहानुभूति रहेको छ। विह्वलको यसघडिमा अन्यथा अर्थ नलाग्ने हो भने जनयुद्धको क्रममा कोख रित्तिएका र सिंदुर पुछिएका प्रति प्रचण्डको क्षमायाचना शायद सान्दर्भिक हुने थियो ।’

थापाको यस ट्वीटपछि उनको व्यापक आलोचना भइरहेको छ । धेरैले उनलाई जनआन्दोलन ताका आफू गृहमन्त्री हुँदा गरेको सर्वसाधारणको हत्याको माफी माग्न माग गरेका छन् । २०६२/६३ को जनआन्दोलन हुँदा थापा गृहमन्त्री थिए । आन्दोलनमा १९ जनाभन्दा बढीले ज्यान गुमाएका थिए भने हजारौँको संख्यामा घाइते भएका थिए ।

थापाको ट्वीटमा जवाफ फर्काउँदै लेलिन बन्जाडे लेख्छन्, ‘ठीक यही बेला ०६२÷६३ मा २१ जना निस्शस्त्र नागरिकलाई गोली हानेर मार्दा कति कोख रित्तिए, कति सिन्दुर पुछिए, त्यसको पनि हिसाब राखेर क्षमा माग्नुस् । सक्नुहुन्छ ?’

अमृत अर्यालले पनि प्रश्न गरेका छन्, ‘तपाईले भगवान ठान्ने पृथ्वीनारायण शाहले कति मानिसहरुको हत्या गरेका थिए ? जनआन्दोलन मा मृत्यु र घाइतेका परिवारसङ्ग क्षमा माग्नु पर्छ कि पर्दैन काजी साप ?’

झुसिल्किरो‏ ट्वीटर ह्याण्डलबाट लेख्छन् ‘भनेको पनि कस्ले के ? अर्ति दिनेको कमि छैन नेपालमा ! युद्दकालमा कति हिंसा राज्यले गरेको थियो ? (जसको मन्त्री तपाइँ पनि हुनुहुन्थ्यो) त्यसको माफि कसले माग्ने नी !