भारत भ्रमण पूर्व संविधान संशोधनको प्रस्ताव: प्रधानमन्त्री

काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसदमा पेश गर्ने र निर्वाचनसम्बन्धी कानुनहरु तयार गरेर मात्रै आफू भारत भ्रमणमा निस्कने बताउनुभएको छ ।

उहाँले भन्नुभयो ‘‘स्थानीय निकायको निर्वाचनसम्बन्धी कानुन एवम् मधेसी मोर्चामा आवद्ध दलहरुको मागलाई सम्बोधन गर्ने गरी संविधान संशोधनको प्रस्ताव पेस गरेर भारत भ्रमण गर्ने तयारीमा छु ।’’

प्रधानमन्त्री निवास बालुवाटारमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले राष्ट्रिय आवश्यकता, मुलुकको चाहनालाई सम्बोधन गर्दै निर्वाचनको वातावरण बनाउन र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

“सबैभन्दा बढी निर्वाचन सरकारको नेतृत्व गर्ने दल नेकपा(माओवादी केन्द्र) लाई छ । सोही अनुसार म लागिपरेको छु” प्रधानमन्त्रीले भन्नुभयो “निर्वाचन आयोगसँग पनि छलफल गरे । सरकारको साझेदार दलसँग पनि कुराकानी भइरहेको छ । प्रमुख प्रतिपक्षी नेकपा(एमाले)सँग पनि अनौपचारिक तहमा छलफल भइरहेको छ । त्यसलाई औपचारिक तहमा लैजाने प्रयासमा छु ।”

संविधान संशोधनको विषय र निर्वाचनको सम्बन्धमा मधेस केन्द्रीत दलहरुलाई पनि सहमतिमा ल्याउनुपर्ने भएकाले आफूले विशेष जोड दिएको बताउँदै प्रधानमन्त्रीले मुलुकको आन्तरिक एकतालाई मजबुत बनाउने यही नै प्रमुख उपाय भएको स्पष्ट पार्नुभयो ।

आफूलाई प्रधानमन्त्री पद चुनौतीपूर्ण र जोखिमपूर्ण रुपमा प्राप्त भएको उल्लेख गर्दै उहाँले भन्नुभयो “संविधानसभाबाट संविधान जारी गर्नु जस्तै स्थानीय निकायको निर्वाचन आफू र आफ्नो नेतृत्वको सरकारको लागि महत्वपूर्ण एवम् चुनौतीपूर्ण छ । त्यो जिम्मेवारी पूरा गर्छु ।”

नेकपा(एमाले) नेतृत्वको सरकारले निर्वाचन गर्न नचाहेको निष्कर्षमा पुगेपछि मात्रै सरकार परिवर्तन भएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले संविधान जारी गर्दा र अहिले निर्वाचन गर्ने सन्दर्भमा एमालेले असहयोगी व्यवहार गरेको खुलासा गर्नुभयो ।

उहाँले भन्नुभयो “केपी ओलीले प्रधानमन्त्री पदमा रहँदा नै स्थानीय निकायको निर्वाचन गर्न सकिन्न भनेपछि म सरकार परिवर्तन गर्ने निष्कर्षमा पुगँे ।

शान्ति प्रक्रियाको मुख्य साझेदार दल नेपाली काँग्रेस र माओवादी मात्रै रहेको तथा एमालेको भूमिका सहायक मात्रै रहेकाले पनि प्राकृतिक गठबन्धनलाई छाड्दा मूल मुद्दा नै किनारा लाग्ने खतरा देखेकाले वर्तमान समीकरण बनेको स्पष्ट पार्नुभयो ।