रुसमा थप नाकाबन्दी

जर्मन चान्सलर एन्जेला मर्केलले पूर्वी यूक्रेनमा जारी युद्ध अन्त्य गर्नेसम्बन्धी नयाँ सम्झौता कार्यान्वयन नगरे रुसले थप आर्थिक नाकाबन्दीको सामना गर्नुपर्ने चेतावनी दिएकी छन् । युद्ध अन्त्यसम्बन्धी सम्झौता रुसले कार्यान्वयन नगरे कस्तो नाकाबन्दी लगाउने भन्नेबारे ‘इयू’का नेताहरुसँग छलफल भइरहेको पनि मर्केलले जानकारी दिइन् ।
विहीबार मात्र रुस, युक्रेन, जर्मनी र फ्रान्सबीच बेलारुसमा भएको छलफलमा पूर्वी यूक्रेनको युद्ध रोक्न सहमति गरिएको थियो । शनिबार मध्यरातिबाट युद्धविराम लागू गर्न दुबै पक्ष सहमत भएका छन् । हतियार फिर्ता र बन्दी साटासाट गर्ने सहमतिमा युक्रेन सरकार र रुससमर्थित विद्रोहीले हस्ताक्षर गरेका छन् । विश्व नेताहरुको उपस्थितिमा सहमति भएकै दिन विहीबार पनि विद्रोहीहरुले आक्रमण कायमै गरेको तथा युद्ध नरोक्ने पनि उनीहरुले बताएका छन् ।
युक्रेनसँग छुट्टिन रुस समर्थकले गरेको विद्रोहमा ५ हजारभन्दा बढी मानिस मारिइसकेका छन् । यसअघि युक्रेनकै हिस्सा रहेको क्राइमियालाई रुसले आफूमा विलय गराइसकेको छ ।