एनआरएन यूके सामुहिक लगानी विभागको पहिलो कार्यक्रम सम्पन्न

लन्डन -गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके सामुहिक लगानी विभागले नेपालको हाइड्रो पावरमा सामूहिक लगानी विषयमा एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

पश्चिम लण्डनको साउथ ह्यारो स्थित चौतारी रेष्टुरेन्टमा भएको सामुहिक लगानी कार्यक्रम गैर आवाशिय नेपाली संघ बेलायतका सामुहिक लगानी विभागका संयोजक गंगा रानाको अध्यक्षतामा सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथी संस्थाका महासचिव आर.के. त्रिपाठीले सामुहिक लगानी गर्न आव्हान गर्दै एक मात्रले थोरै गर्न सक्ने हुँदा सबै मिलेर लगानी गर्दा व्यवसाय सफल हुने बताउनु भयो ।

हाइड्रो पावर विशेषज्ञ तिलक लामाले नेपालीमा रहेका विभिन्न हाइड्रोपावरमा सामुहिक लगानी गरे आयोजना सफल हुने र नेपालीलाई नै मुनाफा हुने भएकोले गैर आवाशीय नेपालीहरुले सामुहिक रुपमा लगानी गर्न आहवान गर्नु भयो ।

संयोजक गंगा रानाले गैर आवाशिय नेपाली संघ बेलायतले विगतमा पनि सामुहिक लगानी एवं लोक कल्याणकारी कार्य गरेको स्मरण गराउँदै अब बेलायत स्थित नेपालीहरु आपसमा भातृत्व बढाई एक आपसमा विश्वास गरी जसले राम्रो प्रोजेक्ट पेश गरे पनि यदि प्रोजेक्ट फाईनान्स रियल्ली भायवल भए विश्वास गरी सानो रकम लगानी गरी प्रोजेक्ट सुरु गरी नयाँ पन दिई नेपालीहरुलाई एक ठाउँमा उभिन आग्रह गर्नु भयो ।

कार्यक्रममा दिलाल तामाङ्ग, धन तामाङ्ग, तेज गुरुङ्ग, बबि लामा,संचार कर्मी इन्दिरा तामाङ्ग, शिव भण्डारी लगायतको उपस्थिती थियो ।

एनआरएनए यूकेको नयाँ नेतृत्व आएपछि विभागले पहिलोपटक यस प्रकारको कार्यक्रम सुरु गरेको हो ।