निर्वाचन आयोगले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आजबाट निर्वाचन शिक्षा कार्यक्रम सुरु गरेको छ । पहिलो चरणको निर्वाचन आउन १५ दिन मात्र बाकी रहेको अवस्थामा आयोगले मतदाता शिक्षा कार्यक्रम शुरु गर्न लागेको हो । ढिलो गरी कार्यक्रम गर्दा आयोगले यसअघि बनाएको योजना अन्तर्गत सबै कार्यक्रम नहुने भएको छ ।
पहिलो र दोस्रो दुवै चरणमा निर्वाचन हुने जिल्लामा आयोगले मतदाता शिक्षाका लागि कर्मचारी परिचालन गरेको हो । हरेक मतदान केन्द्रमा १ जना रहने गरी १९ हजार ९ सय ८ कर्मचारिलाई आज कार्यक्षेत्र पठाईएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । सर्वोच्च अदालतको आदेश बमोजिम प्रतिनिधि र प्रदेश सभाका लागि छुट्टा–छुट्टै मतपत्र छाप्ने निर्णय भएपछि गत १५ गतेदेखि सुरु गर्ने भनिएको मतदाता शिक्षा कार्यक्रम १० दिन ढिलो गरी शुरु गरिएको हो । परिमार्जित व्यवस्था अनुसारको तालिम पश्चात आवश्यक सामाग्री सहित कर्मचारीलाई निर्वाचन क्षेत्र खटाइएको प्रवक्ता ढकालले बताउनुभयो ।
पहिलो चरणको निर्वाचन आउन थोरै समय भएपनि कर्मचारी मतदान केन्द्र पुगेपछि मतपत्र तथा निर्वाचन प्रक्रियाका सम्बन्धमा मतदातामा रहेको अन्यौलता हट्ने ढकालको दावी छ । उहाँले दलका कार्यकर्ताहरुबाट मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्ने भन्दै त्यसमा सहयोग गर्न दल तथा तिनका कार्यकर्तालाई आग्रह गर्नुभयो । यसअघि स्थानीय तहका लागी भएको मतदानमा धेरै मत बदर भएपछि मतदाता शिक्षा चाडो र प्रभावकारी ढंगले लागु गर्नुपर्ने सम्वन्धित पक्षले आवाज उठाएका थिए । अहिलेपनि ढिला गरी कार्यक्रम शुरु हुन लागेकाले बदर मतको सख्या बढ्न सक्ने आशंका रहेको छ ।






