काठमाडौं । बहुप्रतीक्षित मूलपानी क्रिकेट रंगशालाको माथिल्लो मैदान खेल्न योग्य भएको छ । मैदानको आगामी शनिबार औपचारिक उद्घाटन हुँदैछ ।
बिहीबारदेखि बन्द प्रशिक्षण सुरु गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजै मूलपानी क्रिकेट मैदानको अवलोकन गरी केहिबेर अभ्याससमेत गरेको छ ।
नेपाल क्रिकेट संघ क्यानका कार्यसञ्चालन अधिकृत छुम्बी लामाका अनुसार शनिबार राष्ट्रिय क्रिकेट खेलाडी र पूर्व राष्ट्रिय खेलाडीहरुको टीमबीच खेल खेलाएर मैदानको औपचारिक उद्घाटन गरिनेछ भने मैदान खेल्न योग्य छ भन्ने सन्देश पनि प्रवाह गरिनेछ ।
करीव १२ वर्षअघिदेखि निर्माण सुरु भएको यस रंगशालाको मैदान निर्माण अभियानले अघिल्लो वर्षको चैतदेखि गति लिएको थियो ।
क्रिकेट खेलाडीहरुको सक्रियतामा राष्ट्रिय खेलकुद परिषदले बजेट उपलब्ध गराएपछि मैदानको फिनिसिङकार्य सम्भव भएको हो ।






