विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले मनायो देवकोटो जयन्ती

–सुरेन्द्र इङ्नाम

केन्ट (बेलायत) विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले १०९ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती केन्टमा एक कार्यक्रम आयोजना गरी मनाएको छ ।

दुई चरणमा भएको कार्यक्रमको सुरुमा महाकवि देवकोटाको फोटोमा संयुक्त रुपमा माल्यार्पण गरिएको थियो । त्यसपछि गीतकार टि माया राईले महाकवि देवकोटाको जीवनी प्रस्तुत गरेका थिए ।

पहिलो चरणमा स्रष्टाद्वय दिपेन्द्र थुलुङ राई र लाहाङ चेम्जोङलाई सम्मान गरिएको थियो । महासङ्घ केन्द्रले रसियन भाषामा प्रकाशित गरेको कविताहरुको संग्रह नेपाली कविता कुञ्ज पनि बिनेसाम साउथका अध्यक्ष बिजय हितान र साहित्यकार घन थापाले संयुक्त रुपमा विमोचन गरे ।

कार्यक्रममा कवि घन थापा, टि माया राई, अमित थेबे, लोकबहादुर गुरुङ, लाहाङ चेम्जोङ, बिजय हितान, विश्वास दीप तिगेला, औतारी साईला र चन्द्रावती राईले सिर्जना वाचन गरेका थिए

जानुका पुन मगरले ‘ए कान्छा ठट्टैमा यो बैश जान लाग्यो….’ बोलको गीत तथा मोहन लिम्बुले आफ्नै कम्पोज र शब्द रहेको गीत गायकीमा प्रस्तुत गरेका थिए । त्यस्तैगरि सुरेन्द्र इङ्नामले बाँसुरीमा देबकोटाको गीति कविता कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो बजाएर सुनाएका थिए ।

दोस्रो चरणको समिक्षात्मक कार्यक्रममा अमित थेबेले शोभा कुमारी गजुरेलद्वारा लिखित संविधान कसका लागि नामक कविता संग्रहको समिक्षा गरे । उक्त संग्रहमा ६४ वटा कविताहरु अटाएका छन् । लेखिका आफै द्वन्द्वकालमा विस्थापित भएर जर्मनी, बेल्जियम हुँदै फ्रान्स आएर बसोवास गरिरहेकी छिन् । कविता संग्रहको यो संविधान कसका लागि शीर्षकको कविता पनि वाचन गरेका थिए । कवियत्री वामपन्थी नेता सीपी गजुरेलको सुपुत्री हुन ।

दिउँसो १२ बजेबाट शुरु भएर साँझ ५ बजेसम्म चलेको उक्त समारोहलाई समारोहका अध्यक्ष तिगेलाले युकेमा आउँदो वर्ष विश्व साहित्य सम्मेलन गर्ने योजना पनि रहेको बताए ।

महासङ्घका केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाको अध्यक्षतामा सम्पन्न समारोहमा बेलायत तथा नेपालबाट आएका साहित्यप्रेमी र साहित्यनुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई साउथ शाखाका अध्यक्ष विजय हितानले सञ्चालन गरेका थिए ।