मनदेखि नै सहयोगी भावना भए सहयोगी हातहरू धेरै हुने रहेछन् भन्ने लोकोक्ति यहाँका एक रिक्सा चालकले गरेर देखाएका छन् । वर्षौंदेखि रौतहट जिल्लाको चन्दपुर नगरपालिकामा रिक्सा चलाउँदै आएका केदारप्रसाद तिमलसिनाले शीतलहर पीडितलाई न्यानो कपडा वितरण गरेर उदाहरणीय काम गरेका छन् । विभिन्न सङ्घसंस्थाबाट न्यानो कपडा सङ्कलन गरेर उनले चन्द्रपुर नगरपालिका वडा नं १४ स्थित चेतनगरको मुसहर बस्तीमा १७० घरधुरीका सर्वसाधारणलाई न्यानो कपडा वितरण गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी मदन भुजेल र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सानुबाबु थपलियाको उपस्थितिमा उनले आफ्नै हातले दलित बस्तीका बासिन्दालाई न्यानो कपडा वितरण गरेका हुन् । उनलाई जाडोका कपडा काठमाडौँ, जनकपुर तथा चितवन जिल्लाका उद्योगी तथा विभिन्न सङ्घसंस्थाले रौतहटका शीतलहरपीडित गरिब तथा दीनदुखीलाई उपलब्ध गराउनु भनी उपलब्ध गराइदिएका हुन् ।
सो अवसरमा प्रजिअ भुजेलले रिक्साचालक तिमलसिनाले प्रशंसनीय काम गरेको र यस्तै सामाजिक सेवामा आगामी दिनमा अझै अग्रसर हुन सुझाव दिनुभयो । विगत लामो समयदेखि सामाजिक कार्यमा समेत अग्रसर रहँदै आएका तिमलसिना एफएम रेडियो तथा सामाजिक सञ्जालमा लोकप्रिय रहेका छन् ।
तिमलसिना भन्छन्–“सामाजिक सञ्जालले नै मलाई चिनाएको छ र यसैको सहाराले आफूले न्यानो कपडा सङ्कलन गरी गरिबलाई वितरण गर्न सफल भएको हुँ ।” उनले अझै विभिन्न सङ्घसंस्थासँग सहयोग लिएर जिल्लाका हरेक दलित बस्तीमा लगेर न्यानो कपडा बाँड्ने योजना रहेको पनि सुनाए ।
मनदेखि नै सहयोगी भावना भए …






