काठमाडौं– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो घोषणापत्रमा २०६२–६३ पछिको परिवर्तनलाई आत्मसाथ गर्नुको साटो इतिहास बनेको राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्दै गणतन्त्र, धर्मनिरपेक्षता र संविधानप्रति नै कटाक्ष गरेको छ । सो पार्टीले नेपालको प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिहरु उग्रबामपन्थी धरापमा फस्दै गएको दावी गर्दै त्यसबाट मुक्त गर्न राजसंस्थाको पनस्थापना गर्नुपर्ने विकल्प अघि सारेको छ ।
राप्रपाले मंगलबार जारी गरेको चुनावी घोषणापत्रमा प्रजातान्त्रिक शक्ति भनिएको नेपाली कांग्रेसप्रति लक्षित गर्दै सो पार्टी उग्रबामपन्थी धरापमा फस्दै गएको उल्लेख छ । एक दशकको राजनैतिक अभ्यासलाई आधार बनाएर राप्रपाले उक्त निश्कर्ष निकालेको पनि घोषणापत्रमा छ ।
त्यस्तै राप्रपाले उग्रवामपन्थी समुहले आफ्नो अभिष्ट पुरा गर्न अघि सारेको रणनीतिक एजेण्डालाई नेपालका प्रजातान्त्रिक शक्तिहरुले स्वीकार गर्न बाध्य हुनुपरेको जनाएको छ । घोषणापत्रमा कुनै पनि पार्टीको नाम उल्लेख नगरेपनि राप्रपाले नेपालका सवै कम्युनिष्ट पार्टी र प्रजातान्त्रिक भनिएको नेपाली कांग्रेसमाथि पनि घुमाउरो तरिकाले हमला गरेको छ ।
राष्ट्रिय अखण्डतामाथि गम्भीर चुनौती
सो पार्टीले ‘राष्ट्रिय अखण्डतामाथि गम्भिर चुनौती’ शीर्षकमा नेपालको ईतिहासमा सम्भवतः सन् १८१६पछि पहिलो पटक मुलुकको राष्ट्रिय अखण्डता र सार्वभौमिकता अहिले नै सर्वाधिक चुनौतीपूर्ण स्थितिमा रहेको भन्दै जातीय आधारमा संघीयता, एक मधेश एक प्रदेश, आत्मनिर्णयको अधिकार जस्ता मान्यताहरुले नेपालको राष्ट्रिय अखण्डतामा माथि गम्भीर प्रश्नचिन्ह खडा भएको ठहर गरेको छ ।
त्यस्तै व्यापक रूपमा बढिरहेको बाह्य शक्तिहरुको चलखेल, प्रभाव र हस्तक्षेपले राष्ट्रिय सार्वभौमिकता खण्डित हुने खतरा देखिएकाले देश भित्रका कतिपय राजनैतिक दलहरुमा व्याप्त रहेको आत्मसमर्पणवादी मानसिकता र चिन्तनले राष्ट्रियतालाई कमजोर पारेको राप्रपाको ठहर छ ।
राप्रपाले मधेसमा क्रियाशिल सिके राउतलाई राष्ट्र विखण्डनको एजेण्डा बोकेर एउटा सानो समुह तराईमा क्रियाशील भइरहेको जनाएको छ ।
राष्ट्रिय पहिचान मेटाउने षडयन्त्र
राप्रपाको सार्वजनिक घोषणापत्रमा नेपालको राष्ट्रिय पहिचानलाई कमजोर बनाउने योजनाबद्ध र संगठित प्रयास भैरहेको उल्लेख छ । धर्मनिरपेक्षताको आडमा योजनाबद्ध ढंगले लोभलालच, भ्रम र त्रास देखाई धर्म परिवर्तन गराउने कार्य भैरहेको भन्दै धर्म परिवर्तनको निशानामा अहिले सबैभन्दा बढी आदिवासी, जनजाति र दलित समुदायका व्यक्तिहरु परेको जनाएको छ ।
उसले विगत केही वर्ष यतामात्र लाखांैको संख्यामा धर्म परिवर्तन गराईएको आशंका गरेपनि डाटा प्रस्तुत गरेको छैन । साथै उसले कतिपय स्थानमा कानुनद्वारा निषेधित गौहत्या समेत भैरहेका छन् । जसको परिणामस्वरुप एकातिर नेपालीको राष्ट्रिय पहिचान संकटमा पर्ने टड्कारो खतरा देखिन्छ भने अर्कोतर्फ नेपाली समाजमा सदियौंदेखि कायम रहंदै आएको सामाजिक सांस्कृतिक सद्भाव र एकता खलबलिई देश धार्मिक द्वन्द्वमा फस्न सक्ने संभावना बढेर गएको जनाएको छ ।
विदेशी चलखेल बढ्यो
राप्रपाले गत दुई दशकको राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै नेपाललाई अस्थिर तुल्याई आफ्नो अभीष्ट पुरा गर्न चाहने राष्ट्रिय÷अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल बढेको जनाएको छ । त्यस्तै उसले हालै घोषणा भएको एमाले माओवाी गठबन्धन र कांग्रेस नेतृत्वको गठबन्धनलाई पनि विदेशी चलखेलकै कारण यस्ता गठबन्धन बनेको दावी गरेको छ । उसले नेपालमा विदेशीको चलखेल, प्रभाव र हस्तक्षेप बढ्नुमा बाह्य शक्तिलाई मात्र दोषारोपण गर्नुको सट्टा आफ्नै कमजोरी र हिनतावोधलाई पनि जिम्मेवार ठान्नु पर्दछ । विदेशीको आशिर्वाद, सहयोग र सम्बन्ध नभई सत्तामा पुग्न सकिन्न र कथंम्कदाचित् पुगिहालियो भनेपनि टिक्न सकिन्न भन्ने आत्मसमर्पणवादी मानसिकता नै यो रोगको मूल जड भएको जनाएको छ ।
राजनैतिक दलहरुको भूमिकाको आलोचना
राप्रपाले आफनो घोषणापत्रमा विद्यमान संकटबाट राष्ट्रलाई मुक्त तुल्याउन सक्ने नैतिक, वैचारिक एवं संगठनात्मक हैसियत प्रमुख भनिने राजनीतिक दलहरुले गुमाई सकेको पनि जनाएको छ ।
यी राजनैतिक दलहरुमा देशलाई विद्यमान संकटबाट मुक्त तुल्याउन सक्ने दूरगामी सोचाइ, सक्षम नेतृत्व र इमानदारिताको सर्वथा अभाव रहेको भन्दै माओवादी केन्द्रको जनाधार र विश्वसनियता तीव्र गतिमा ह्रासोन्मुख भएको जनाएको छ । त्यस्तैे नेपाली कांग्रेस र एमाले प्रति हाल कायम रहेको जनधार ती राजनैतिक दलहरुप्रतिको जनविश्वास भन्दा पनि विकल्पहीनताको परिणाम मात्र भएको बताएको छ ।






