काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले विश्वका विभिन्न देश र नेपालमा पनि अक्टोबर क्रान्तिको शतवार्षिकी समारोह उत्साह र उल्लासका साथ मनाइदै आएको बताएका छन् ।
अक्टोबर क्रान्तिको शतबार्षिकीका अवसरमा मंगलबार एक वक्तव्य जारी गर्दै महासचिव बैद्यले विश्वका सर्वहारावर्ग, उत्पीडित जनसमुदाय र सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी तथा संगठन र देशकै जनसमुदाय र पार्टी नेता कार्यकर्ताप्रति शुभकामना पनि व्यक्त गरेका छन् ।
महासचिव बैद्यले अक्टोबर क्रान्तिको शतवार्षिकी समारोह मनाउनुको सार्थकता र वास्तविक मूल्य साम्राज्यवाद तथा विस्तारवादसहित सबैखाले प्रतिक्रियावाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा क्रान्तिको तयारीको दिशामा गम्भीरतापूर्वक तथा प्रभावकारी रुपमा अगाडि बढ्नु भएको पनि बताएका छन् ।
रुसमा लेनिनको नेतृत्व रहेको सर्वहारा वर्गको राजनीतिक पार्टीद्वारा १९१७ अक्टोबर २५ (नोभेम्बर ७) मा सर्वहारा समाजवादी क्रान्ति सम्पन्न भएको थियो । अहिले सो क्रान्ति सम्पन्न भएको एक सय बर्ष पुरा भएको छ ।
अक्टोबर क्रान्तिले विश्व इतिहासमा गुणात्मक छलाङका रुपमा सर्वहारा अधिनायकत्वको नयाँ युगको थालनी गरेको थियो । यो क्रान्तिले विश्वव्यापी रुपमा विश्व सर्वहारावर्ग र उत्पीडित जनसमुदायलाई धक्कामूलक प्रभाव पारेको तथा विभिन्न देशमा सर्वहारावर्गको नेतृत्वमा जनवादी तथा समाजवादी क्रान्ति सम्पन्न हुँदै आएको बैद्यको दावी छ ।






