चीनले तिब्बती धर्मगुरु दलाई लामाको विषयमा संसारभरीका नेतालाई धम्की दिएको छ । संसारभरीका नेता र सरकारलाई चेतावनी दिँदै तिब्बती धर्मगुरु दलाई लामासँगको भेटलाई एक गम्भीर अपराधको रुपमा लिइने चीनले बताएको छ । चीनले दलाई लामाको विषयमा कडा विरोध जनाएको यो पहिलो घटना भने होइन । चीनले योभन्दा अघि पनि थुप्रै पटक दलाई लामाको विषयमा आफ्नो रोष प्रकट गरिसकेको छ । चीनले सधैं दलाई लामामाथि तिब्बतलाई आफूबाट छुट्याउनको खोजेको आरोप लगाउँदै आएको छ । यता चीनले कूटनीतिक सम्बन्ध राख्ने देशका लागि तिब्बतलाई चीनको हिस्सा मान्न आवश्यक भएको बताउँदै आएको छ ।
चीनको सत्ताधारी कम्युनिष्ट पार्टी अफ चीन (सीपीसी) को यूनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका कार्यकारी उपाध्यक्ष झांग यिजियोंगले कुनै पनि देश वा कुनै पनि संगठनले दलाई लामासँग भेट्ने निम्तो स्विकार गर्नु हाम्रो नजरमा चीनियाँ जनताको भावनामाथि ठोस् पुर्याउने एक गम्भीर अपराध हुने बताएका छन् । यस्तो गर्नु चीन सरकारलाई वैध मान्ने प्रतिबद्धताको उल्लंघन पनि मानिने उनले थपेका छन् ।
झांगका अनुसार चीनले संसारका अन्य देश र नेताले ८२ वर्षीय दलाई लामासँग एक धार्मिक नेताको रुपमा भेटेको कुनै पनि तर्कलाई स्विकार गरिने छैन । उनले भने, ‘म यो स्पष्ट पार्न चाहन्छु कि १४ औं दलाई लामा, जसलार्ए बुद्ध भनिन्छ, उनी धर्मको नाममा एक राजनीतिक व्यक्ति हुन् ।’ दलाई लामा सन् १९५९ मा आफ्नो मातृभूमीलाई धोका दिएर अर्को देश (भारत) भागे र निर्वासनमा आफ्नो तथाकथित सरकार स्थापित गरे ।’
‘कानूनी रुपमा कुनै पनि देशको सरकारले दलाई लामाको समूहलाई कुनै पहिचान दिएको छैन । मात्र केही देश र त्यहाँका नेताले दलाई लामालाई सम्मान दिइरहेका छन्, ’ उनले भने, ‘कुनै देशले यो भन्न सक्छ कि दलाई लामा राजनीतिक नभई धार्मिक व्यक्ति, हुन् र उनीहरुका अधिकारीको भेटघाट राजनीतिक होइन । तर यो कुरामा पटक्कै वास्तविकता छैन । हरेक अधकारीले आफ्नो सरकारको प्रतिनिधित्व गर्छ र उनीहरु राजनीतिक व्यक्तित्व हुन्छन् ।’






