काठमाडौं- सत्तारुढ नेपाली काँग्रेसले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच कम्युनिष्ट पार्टीहरुबीच एकीकरण गर्ने सहमति संविधानको हितमा नरहेको टिप्पणी गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नेताहरुले कम्युनिष्ट पार्टीहरुबीच एकीकरण गर्ने एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीचको मंगलबारको सहमति संविधानको हितमा नरहेको टिप्पणी गरेका हुन ।
दुई ठूला कम्युनिष्ट पार्टीबीच चुनावी तालमेल गरेर जाने र पार्टी एकीकरण गर्ने सहमति संविधान कार्यान्वयनको हितमा नरहेको धेरैजसो नेताहरुले धारणा राख्नु भएको विमलेन्द्र निधिले जानकारी दिनुभयो ।
बैठकमा पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धन निर्माण गरेर जाने प्रस्ताव गर्नु भएको थियो ।
बैठकमा प्रधानमन्त्री देउवाले यही सरकारले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सम्पन्न गर्ने बताउनु भएको थियो । उहाँले आफूले लोकतान्त्रिक शक्तिहरुबीच गठबन्धन गर्न संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकलगायतका दलहरुसँग पनि छलफल सुरु गरेको बैठकमा जानकारी गराउनु भएको थियो ।






